एमालेको राष्ट्रिय महाधिवेशन आज सुरू
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आज शनिबार सुरू हुँदैछ। उद्घाटन समारोह बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा हुने तय भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले १०८ रोपनी क्षेत्रफलको विशाल चौरमा तयारी गरिएअनुसार महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्रका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। महाधिवेशन जनपरिचालनका सञ्चालक तथा स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ताको सहभागिता रहने अपेक्षा व्यक्त गरेका छन्।
महाधिवेशनलाई सांस्कृतिक रूपमा समेत भव्य बनाउन नेपालको विविधता झल्काउने गरी २०० भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिने जनाइएको छ।
पार्टीले यस महाधिवेशनलाई सांगठनिक र वैचारिक दुवै दृष्टिकोणबाट महत्त्वपूर्ण रूपमा लिएको छ।
विद्या भण्डारीको शुभकामना
यसैबी, पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारीले महाधिवेशन सफलताको कामना गर्दै जनताको बहुदलीय जनवाद (जबज) को आधारभूत मान्यता अपनाएर नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्, ‘महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ-आफ्ना क्षेत्रका जिम्मेवार नेता समेत हुनुभएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे अवगत नै हुनुहुन्छ। यस्तो परिवेशमा आयोजित पार्टीको सर्वोच्च निकायका रूपमा रहेको यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात् गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएको छु।’
मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा, प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु पर्नेमा उनले जोड दिएकी छन्।
