को बन्ला च्याम्पियन ? सुदूरपश्चिम कि लुम्बिनी ?
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधि भिडन्त आज शनिबार हुँदैछ। लिग चरण र प्लेअफका रोमाञ्चक खेलहरू पार गर्दै फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ।
दुवै टोलीको फाइनल यात्रा विपरीत किसिमको छ। सुदूरपश्चिमले लिग चरणमा शानदार प्रदर्शन गरेको थियो भने लुम्बिनीले उतारचढावका बीच शानदार पुनरागमन गरेर उपाधिको नजिक पुगेको छ।
सुदूरपश्चिम रोयल्सः शानदार प्रदर्शन र दबदबा
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले प्रतियोगिताभरि आफ्नो दबदबा कायम राख्यो।
लगातार ६ खेल जितेर सुदूरपश्चिमले १२ अंकका साथ शीर्षस्थानमा फिनिसिङ गरेको थियो।
लिग चरणको अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि, पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई १५५ रनको योगफल डिफेन्ड गर्दै ७७ रनले पराजित गर्यो र सिधै फाइनलमा स्थान बनायो।
सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ। टोलीले एकपक्षीय रूपमा अन्तिम खेल मात्र गुमाउँदा बाँकी खेलमा प्रभावशाली प्रदर्शन गरेको छ।
जितको शृङ्खला
काठमान्डु गोर्खाजसँग २९ रनले विजयी।
पोखरा एभेन्जर्ससँग १८ रनले विजयी।
पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनले विजयी।
लुम्बिनी लायन्सः पुनरागमनको कथा
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले प्रतियोगिताको बीचमा शानदार पुनरागमन गरेर फाइनल यात्रा तय गरेको हो।
लुम्बिनीले सुरुवाती खेल जिते पनि त्यसपछि लगातार तीन हार बेहोरेको थियो। तर, अन्तिमका तीन खेल जितेर टोलीले प्लेअफमा स्थान बनायो।
कुनै समय प्रतियोगिताबाट बाहिरिने अवस्थामा रहेको लुम्बिनीले एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले र २४ घण्टाभित्रै भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले हराउँदै फाइनलमा पुग्यो।
बलिङ र विदेशी खेलाडीको सही तालमेलले लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन आएको छ। मध्यक्रमको ब्याटिङमा सुधार भएमा टिम अझ बलियो देखिनेछ।
सुदूरपश्चिमका लागि विनोद भण्डारी, अविनाश बोहरा र दीपेन्द्र सिंह ऐरीको त्रिकूट महत्त्वपूर्ण हुनेछ भने लुम्बिनीका लागि रोहित पौडेल, शेर मल्ल र विदेशी खेलाडीको प्रदर्शन निर्णायक हुनेछ।
