सम्झौता

सम्झौता नै त रहेछ जिन्दगी
मैले सम्झौता गरिदिएको छु
पैतालाभरि बिझाइ रहनलाई
रोडाहरू छन्
कदम कदममा ठोक्किनलाई
ढुङ्गाहरू छन्
मनभरि दुखाइ रहनलाई
मर्काहरू छन्
आफ्नोपन हराएर बिरानो भएका
आफन्तहरू छन्
मानवता हराएर रूपान्तरित भएका
मानवतावादी बहानाहरू छन्
सपनाको आँधी बोकेर उर्लिरहने
अनेकानेक तरानाहरू छन्
बिरानो लाग्छ संसार, बिरानो छ
यहाँ हर कोही
यो बिरानो दुनियाँको भीडभित्र
आफैँलाई हराएपछि
म आफैँसँग टाढिएको छु
यसैकारण त अब मैले
बिझाइ अनि दुखाइहरूसँग
सम्झौता गरेको छु
अप्ठ्यारोका ठोक्करहरूसँग
सम्झौता गरेको छु
मनभरिका पीर मर्काहरूसँग
सम्झौता गरेको छु
स्वार्थताको पिँजडाभित्र थुनिएर
विकलाङ्ग बनेका सम्बन्धहरूसँग
सम्झौता गरेको छु
बिरानो लाग्ने आडम्बरी परिवेशसँग
सम्झौता गरेको छु
आफैँबाट हराएर बिरानो भएपछि मैले
मेरा विरोधाभासहरूसँग सम्झौता गरेको छु
भीडहरू बीचको एकान्तलाई स्वीकारेर
यी पट्यारहरूसँग सम्झौता गरेको छु
अन्ततः आफ्नै मनलाई सम्झाइ बुझाइ
मैले मेरो मनसँग सम्झौता गरेको छु
आखिर सम्झौता नै त रहेछ जिन्दगी
मैले जिन्दगीसँग सम्झौता गरेको छु।

-गान्तोक, सिक्किम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *