जेनजी समूहसँग सम्झौता गरेलगत्तै विस्तार भयो अन्तरिम सरकार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी समूहसँग १० बुँदे सम्झौता गरेलगत्तै आफ्नो नेतृत्वको मन्त्रीपरिषद विस्तार गरेकी छन् । चारजना गैरराजनीतिक नयाँ अनुहार थपेर कार्कीले २७ भदौमा गठित मन्त्रीपरिषदलाई १४ सदस्यीय बनाएकी हुन् ।

थपिएका चार मन्त्रीले आज शुक्रबार शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए ।

मन्त्रिपरिषद्का चारजनाले एकभन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। प्रधानमन्त्री कार्कीसँग भने परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालयको थप जिम्मेवारी छ। यसैगरी अर्थमन्त्री रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी निर्वाह गरिरहेका छन्।

कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी चार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्। थपिएका नयाँ अनुहारमा कुमार इङ्नाम कानून व्यवसायी हुन् भने राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका अवकाशप्राप्त विशिष्ट श्रेणीका अधिकृत हुन् ।

न्याय सेवामा लामो समय काम गरेर सर्बोच्च अदालतको प्रधानन्यायाधीशबाट अवकाश प्राप्त गरेकी कार्कीले आकस्मिक रुपमा सरकारको नेतृत्व पाएपछि उनको मन्त्रीपरिषदमा पनि विभिन्न पेशा व्यवसायमा काम गरिसकेका र गरिरहेका गैरराजनीतिक व्यक्तिहरु समेटिएका छन् ।

प्रधानमन्त्री कार्कीले तीनवटा जेनजी समूहसँग १० बूँदै सम्झौता गरिएको भोलिपल्ट मन्त्रीपरिषद विस्तार गरेकी छिन् । २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन गराउने मुख्य दायित्व पाएको यो सरकार राजनीतिक संवादमा निकै कमजोर देखिएको छ । दलहरु र सरकारबीच शंकाको सम्वन्ध देखिएको छ । यही कारण हुनसक्छ निर्धारित समयमा निर्वाचन त हुनसक्छ भनेर आशंका पनि गरिएको पाईन्छ ।

यस्तो छ जिम्मेवारी

सुशीला कार्की :  प्रधानमन्त्री परराष्ट्र, रक्षा, खानेपानी

रामेश्वरप्रसाद खनाल: अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कुलमान घिसिङ : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायातस सहरी विकास

ओमप्रकाश अर्याल: गृह

अनिलकुमार सिन्हा: उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

महावीर पुन: शिक्षा, विज्ञान तथा प्रविधि

मदनप्रसाद परियार: कृषि तथा पशुपन्छी विकास

जगदीश खरेल: सञ्चार तथा सूचना प्रविधि

सुधा गौतम: स्वास्थ्य तथा जनसङ्ख्या

बब्लु गुप्‍ता: युवा तथा खेलकुद

कुमार इङ्नाम: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

राजेन्द्रसिंह भण्डारी: श्रम, रोजगार तथा सामाजिक सुरक्षा

माधवप्रसाद चौलागाई: वन तथा वातावरण

श्रद्धा श्रेष्‍ठ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *