नाम मात्रले पनि नजितिँदो रहेछ खेल !
जब पहिलो इनिङ सकियो, लुम्बिनी लायन्सले १३५ रनको सामान्य लक्ष्य दियो। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने निकै सन्तुष्ट थिए।
सन्दीपले राम्रो कप्तानी गरे। राम्रो बलिङ गरे। लुम्बिनीलाई १३४ रनमै रोक्न सफल भए । सन्दीप फेरि एकपटक ‘मस्ट विकेट टेकर्स’ को शीर्षस्थनमा उक्लिए। गोरी दिदीबाट ‘गोल्डेन क्याप’ पाए।
त्यसपछि गोरी दिदीसँग सन्दीपले भने, ‘यो खेल हामी सजिलोसँग जित्छौँ, हाम्रो लागि यो ‘इजी विन’ हुनेछ। योभन्दा अघिल्लो खेलमा हाम्रो दिन राम्रो थिएन। तर, हाम्रो ब्याटिङ लाइनअप निकै बलियो भएका कारण हामी यो खेलचाहिँ सजिलोसँग जित्नेछौँ।’
खेलको नतिजा पनि सन्दीपले भनेजस्तो पटक्कै भएन। सन्दीपलाई आफ्नो ब्याट्सम्यानहरूमाथि पूरा भरोसा थियो। तर, भरोसा गरेकाहरूबाट भरोसेदार इनिङ भएन। योभन्दा अघिल्लो खेलमा विराटनगर ७८ मा ‘अल आउट’ थियो। लुम्बिनीविरुद्ध पनि लाजमर्दो ब्याटिङ भयो, ९४ मा ‘अल आउट’ ।
पछिल्ला दुई खेलहरूमा सन्दीपको टोलीले राम्रो ब्याटिङ गर्न पटक्कै सकेन। ब्याट्सम्यानहरूले जिम्मेवारी लिन सकेनन्।
तपाईँहरूमध्ये धेरैलाई चित्त दुख्ला, तर लोकेश बम चाहिँ मेरा लागि कहिल्यै ब्याट्सम्यान होइनन्। वर्षमा एकपटक ब्याट चल्छ उनको। लोकेशले मौका नपाएको पनि होइन, साह्रै धेरै मौका पाएका छन्। अघिल्लो वर्षको एनपीएलमा पनि जम्मा एउटा खेलमा मात्र उनको ब्याट चल्यो। यसपटक पनि त्यही एउटा खेलमा ब्याट चल्यो, नानी बोकेको इशारा गरे, त्यत्ति हो।
मार्टिन गुप्टिलले सम्भवतः अब लिग क्रिकेट पनि खेल्न छोड्नेछन्। अर्को वर्ष विराटनगरको कोच बनेर आउन पनि सक्छन्।
लुम्बिनीलाई कम स्कोरमा समेटेको थियो विराटनगरले।
विराटनगरले सामान्य लक्ष्य प्राप्त गरेको थियो। सन्दीपले राम्रो बलिङ गरेका थिए। उनको काम सकिएको थियो। खेल जिताउने पालो ब्याट्सम्यानको थियो। तर, आशलाग्दा ब्याट्सम्यानको ब्याट चलेन।
नाम मात्रले पनि खेल नजितिँदो रहेछ। नामले खेल जितिन्थ्यो भने त फाफ, गुप्टिल अनि सन्दीप गरेर यी तीनजनाको नाम नै काफी थियो नि। तर, नामले खेल जितिँदैन।
अब लुम्बिनीको कुरा गरौँ। रोहितले नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेको लामो समय भयो। कस्तो बेला कसरी खेल चलाउने भन्ने उनीसँग राम्रै अनुभव पनि भयो।
सुरुका एक दुईवटा खेलहरू हार्दा रोहितको टिमका मालिक नै सामाजिक सञ्जालमा बर्बराउन थालिसकेका थिए। तर, रोहित निकै शान्त देखिए। पटक्कै हडबडाएनन्। यो खेलमा लुम्बिनी १३४ रनमै रोकिन पुग्दा चाहिँ रोहितको अनुहार मलिन थियो। तर, केही मिनेटमै रोहितको अनुहार फूलजसरी फक्रिन थाल्यो। अनि सन्दीपको अनुहार मलिन हुँदै गयो।
सन्दीपको टोलीमा बलिङ र फिल्डिङ डिपार्ट गजब थियो, ब्याटिङ लाजमर्दो भयो। रोहितको टोलीमा ब्याटिङ तारिफयोग्य भएन। फिल्डिङ र बलिङ अतुलनीय भयो। रोहितको कप्तानी अति सुन्दर भयो। कुन बलरलाई कतिखेर प्रयोग गर्ने, कुन फिल्डरलाई कहाँ राख्ने, यी सबै कप्तानले नै गर्ने हो।
दुईमध्ये एउटा टोलीको समर्थन गरेन भने खेल हेर्न त्यति मजा आउँदैन। म पूर्वेली भएको नाताले विराटनगरलाई समर्थन थियो। तर, मैले समर्थन गरेको टिमले नमिठो हार बेहोरेको छ।
लुम्बिनीलाई भाग्यले पनि साथ दिएको छ। सुदूरपश्चिमलाई पराजित गरेर लुम्बिनीले योपटक उपाधि जित्यो भने अचम्म मान्नु पर्दैन।
* * *
लुम्बिनी फाइनलमा, हार्यो विराटनगर

