लुम्बिनी फाइनलमा, हार्यो विराटनगर
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। लुम्बिनीले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए, जसमा उनले ४१ बल खेलेका थिए। कप्तान रोहित पौडेलले ३४ रन र विकेटकिपर निरोशन डिकवेलाले २९ रन जोडेका थिए।
विराटनगरका बलरहरूमध्ये सुभाष भण्डारी, कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले उत्कृष्ट बलिङ गर्दै नियमित विकेट लिएका थिए। सुभाष भण्डारी र प्रतिश जिसीले ३–३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए।
लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा अलआउट भयो। विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन बनाए पनि बाँकी खेलाडीले प्रभाव जमाउन सकेनन्। लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो।
लुम्बिनीका लागि तिलक भण्डारीले ४ ओभरमा ३ विकेट लिए। रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले २-२ विकेट लिए। यस जितसँगै लुम्बिनीले दोस्रो संस्करणको एनपीएल फाइनलमा प्रवेश गरेको छ।
