राजनीतिमा नैतिक संकट: नेतृत्वको विरोध वा अपमानको संस्कार ?

नेपालको हरेक फाँटमा पद्धति र क्षमताका आधारमा नेतृत्व चयन गर्ने संस्कार अनिवार्य रूपमा स्थापना गर्नैपर्छ। यहाँ घेराबन्दी र साम, दाम, दण्ड, भेदको सहाराले मात्र नेतृत्व हुत्याइन्छ, जसका कारण सहज शक्ति हस्तान्तरण वा पुस्तान्तरण कहिल्यै सम्भव हुँदैन।

राजनीतिक भूलभुलैया: नेतृत्व चयनको तरिका

हरेक क्षेत्रमा पद्धति र क्षमताका आधारमा नेतृत्व चयन गर्ने संस्कार नेपालमा अब अनिवार्य रूपमा स्थापना गर्नैपर्छ। यहाँ त घेराबन्दी तोडेर साम, दाम, दण्ड, भेदको सहाराले मात्र कसैलाई नेतृत्वमा हुत्याइन्छ। त्यस्तो वातावरणमा पाएको नेतृत्वलाई आजीवन रहन मन लाग्छ, जसले गर्दा सहज शक्ति हस्तान्तरण र पुस्तान्तरण कहिल्यै सम्भव हुँदैन।

सासुको दमन बुहारीमा थोपर्ने पुरानो चलनलाई कहिले संस्कार भनिन्छ, कहिले कर्तव्य भनेर लादिन्छ। तर मूलमा समस्या एउटै छ: जिम्मेवारी वहन गर्न नचाहने मनोविज्ञान, आफ्नो शक्ति देखाउन चाहने संस्कार, र प्रश्न उठाउनेलाई दोषी ठहर्याउने प्रवृत्ति।

दुर्भाग्यवश, आजको नेपाली राजनीति केवल दाँत देखाएर सोधिने सबाल मात्र हुन पुगेको छ— न उत्तर चाहिने, न जिम्मेवारी मागिने; बस, दर्शक भ्रमको बजार मात्र।

साझा राजनीतिक रोग: नेतृत्वको विरोध वा अपमानको संस्कार

अर्को एक गम्भीर समस्या हो—नेतृत्वको विरोध वा परिवर्तनको नाममा आफ्नै नेतामाथि अपमानजनक शब्द प्रहार गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै जानु। कतै यसलाई “रणनीति” भनिन्छ, कतै “बाध्यता” को नाममा ढाकछोप गरिन्छ, तर जसरी भए पनि यो संस्कृति हानिकारक नै हो।

दलभित्र प्रतिस्पर्धा, विचार भिन्नता र नेतृत्वको विकल्प खोज्नु स्वाभाविक प्रक्रिया हो। तर त्यो प्रक्रिया चरित्र हत्या, व्यक्तिगत आरोप–प्रत्यारोप, अपमानजनक शब्दबर्षा वा भावनात्मक विभाजनमा परिणत हुँदा राजनीतिले आफ्नो सभ्यता, वाणी र मूल्य मान्यतै गुमाउँछ।

यस्ता अपमानजनक व्यवहार गर्नेहरूले भोलि कता उभिनुपर्ने, कसको नेतृत्वसँग फेरि सहकार्य गर्नुपर्ने वा कसरी एउटै टेबलमा बसेर राष्ट्रिय मुद्दा समाधान गर्नुपर्ने भन्ने कुनै पक्षको ख्याल नै गर्दैनन्। इगो र आक्रोशको क्षणिक आवेगमा झरीझैँ झर्ने शब्दहरूले राजनीतिक सम्बन्ध मात्र बिगार्दैनन्, आफ्नै संगठनको भविष्यलाई समेत कमजोर बनाउँछन्।

याद राखौं, नेतृत्वको विरोधका नाममा जुवारीझैँ अपमानजनक शब्द बर्साउने संस्कार न त राजनीतिक परिपक्वता हो, न त वैचारिक प्रतिस्पर्धा। यो त असफल राजनीतिक संस्कारको प्रत्यक्ष संकेत मात्र हो।

यस्तो संस्कारलाई सुधार्नु आजका राजनीतिक दलहरूको सबैभन्दा ठूलो नैतिक जिम्मेवारी बनिसकेको छ।

निष्पक्षताको साहस: अन्तरात्मासँगको गोप्य संवाद

संसारमा सबैभन्दा कठिन यात्रा भनेको पक्ष वा विपक्षको रंग नधारीकन, केवल सही र गलतको आधारमा स्वतन्त्र आवाज उठाउने यात्रा हो। कारण सरल छैन: पक्ष लिँदा भीडले साथ दिन्छ, विपक्षमा उभिँदा अरू कुनै भीडले आफ्नो रंग लगाइदिन्छ।

तर निष्पक्ष रहने क्षण त्यो हो, जहाँ न त भीड साथ हुन्छ, न त तालियाँ बाँडिन्छन्। त्यहाँ केवल आफ्नै अन्तरात्मा अडिरहेको हुन्छ। निष्पक्ष आवाज उठाउनु भनेको अरूलाई जित्नु होइन, पहिले आफूभित्रका पूर्वाग्रह, डर, मोह र आकर्षणलाई जित्नु हो।

निष्पक्षताको अभ्यासले भन्छ: सही-गलतको मूल्य भीडले होइन, अन्तरात्माले चिन्छ र बुझ्छ। त्यसैले निष्पक्ष भएर बोल्नु भीडको शक्ति होइन, एक्लै उभिन सक्ने साहसको परिमाण हो।

इतिहासमा भएका साँचो परिवर्तनहरू भीडको तालीले होइन, एक-एक सानो आवाजले, निष्पक्ष कदमले र आफैँलाई खोज्ने अन्तर्मनको प्रकाशले जन्मिएका थिए। महात्मा गान्धीलाई महान् बनाएको भीडको साथ होइन, भीडभन्दा पहिले आफ्नै अन्तरात्माको आदेश सुन्न सक्ने क्षमता हो। त्यसैले, निष्पक्ष हुनु केवल एक भूमिका होइन, जीवनभर सिकिरहनुपर्ने एक अनुशासन हो।

सही मार्ग, साझा गन्तव्य

सही मार्गमा गन्तव्यतिर पुग्नु हाम्रो सबैको साझा दायित्व हो। आ-आफ्नो क्षेत्रबाट फरक–फरक भूमिकामार्फत योगदान दिएर भोलिका सन्ततिलाई राम्रो संस्कार, उच्च मूल्य र सुन्दर नेपाल हस्तान्तरण गर्नु योग्य नागरिकको कर्तव्य र गर्व दुवै हो।

नेपालको राजनीतिक यात्रा परिवर्तनयोग्य छ। तर त्यो परिवर्तन नेतृत्वले आफैं ल्याइदिने कुरा होइन। परिवर्तन सुनिश्चित हुन्छ, जब नेतृत्व चयन गर्ने संस्कार, नेतृत्व उत्पन्न गर्ने पद्धति, र नेतृत्वलाई उत्तरदायी राख्ने प्रणाली सही हुन्छ।

व्यक्ति बदलिँदैमा देश बदलिँदैन, तर व्यक्ति छान्ने मानदण्ड बदलियो भने राजनीतिक संस्कार नै फेरिन्छ, र त्यो संस्कारले नै स्थायी परिवर्तनको आधार तयार गर्छ। त्यसैले, हामीले खोजिरहेको परिवर्तन नेतृत्वमा होइन- नेतृत्व निर्माण गर्ने हाम्रो सामूहिक चेतनामा सुरु हुनुपर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *