हिमनदी पग्लिने जोखिम र पर्वतीय जीवनबारे विश्वको ध्यानाकर्षण
काठमाडौँ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने गम्भीर प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे विश्वव्यापी जनचेतना बढाउने उद्देश्यका साथ आज (डिसेम्बर ११) विश्वभर अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ। यो दिवसले विश्वभरका पर्वतीय समुदाय र वातावरणको पक्षमा सकारात्मक परिवर्तन ल्याउन अन्तर्राष्ट्रिय सहकार्य निर्माण गर्न जोड दिएको छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा मनाइने गरिएको छ। यस अवसरमा रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को प्रधान कार्यालयमा पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रमहरू आयोजना हुँदैछन्।
राष्ट्रसङ्घका अनुसार, विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन्। पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले यो पानीको स्रोत पनि जोखिममा परेको छ। द्रुत गतिमा हिमनदीहरू पग्लिएका छन् र विश्वव्यापी तापक्रम बढ्ने क्रम जारी रहे अन्य हिमनदीहरू पनि हराउने खतरा छ।
यसैगरी, विश्वभर एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या हिमनदीहरू पग्लेर बनेका ताल फुट्ने सम्भावित जोखिमका कारण अत्यधिक संवेदनशील अवस्थामा छन्। यो दिवसले यस्ता जोखिम र चुनौतीबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास तथा सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ।
