लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा, काठमान्डु गोर्खाज बाहिरियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको एलिमिनेटर खेलमा लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै प्रतियोगिताको दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको छ । लिग चरणमा तेस्रो स्थानमा रहेको काठमान्डु गोर्खाज भने यो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको सामान्य योगफल तयार पारेको थियो । काठमान्डुका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए भने जोन सिम्पसन र आदिल आलमले समान १८ रन जोडे । लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गर्दै समान ३-३ विकेट लिएका थिए । रुबेन ट्रम्पलम्यानले पनि २ विकेट लिए । शेर मल्लको यो प्रदर्शनपछि उनी प्रतियोगितामा सर्वाधिक १३ विकेट लिँदै तेस्रो स्थानमा उक्लिएका छन् ।

११२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर जित हासिल गर्‍यो । लुम्बिनीको जितमा ओपनर डार्शी सर्टले सर्वाधिक ३३ रनको योगदान दिए भने सन्दीप जोराले २३ र कप्तान रोहित पौडेलले १८ रन बनाए । काठमान्डुका सन्तोष यादवले २ विकेट लिए ।

यो जितसँगै लुम्बिनी लायन्सले फाइनल प्रवेशका लागि बिहीबार विराटनगर किंग्ससँग दोस्रो क्वालिफायर खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग पराजित भएको थियो, जसले सुदूरपश्चिमलाई सिधै फाइनलमा पुर्‍याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *