कांग्रेस सभापतिमा चन्द्र भण्डारीको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी सभापति पदका लागि नेता चन्द्र भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत ‘साथीहरूको जिज्ञासा मेरो धारणा’ शीर्षक राख्दै उनले आफ्नो आकाङ्क्षा सार्वजनिक गरेका हुन्।

भण्डारीले महाधिवेशनमा सभापति पदका लागि आफ्नो आकाङ्क्षा ‘स्पष्ट’ र ‘दृष्टिकोण उति नै निर्धारित’ रहेको बलियो सन्देश दिएका छन्।

उनले देश, जनता, प्रजातन्त्र र सङ्गठनको हितलाई केन्द्रमा राखेर आफ्नो उम्मेदवारीको स्वरूप निर्धारण गर्ने बताएका छन्।

उनले उल्लेख गरेका छन्, “तर देश जनता, प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।”

यो अभिव्यक्तिलाई कतिपयले उनले नेतृत्वका लागि अन्तिमसम्म प्रतिस्पर्धा गर्ने दृढताका रूपमा लिएका छन् भने कसैले आवश्यकताअनुसार पार्टीको बृहत् एकताका लागि आफ्नो भूमिकालाई समायोजन गर्न सकिने लचकताका रूपमा अर्थ्याएका छन्।

भण्डारीले आफ्नो कदम चाल्नुअघि सुझाव, समयको माग र ‘राजनीतिक बजार’ लाई सम्मान गर्ने बताएका छन्। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *