जापानमा ७.५ म्याग्निच्युडको भूकम्प : हजारौँ विस्थापित

टोकियो। सोमबार राति उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यस भूकम्पका कारण कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौँ मानिसहरूले आफ्नो घर छोडेर सुरक्षित स्थानमा जानुपरेको छ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार, भूकम्प स्थानीय समयअनुसार राति ११:१५ बजे आओमोरी क्षेत्रको तटबाट करिब ८० किलोमिटर टाढा ५० किलोमिटर गहिराइमा गएको थियो। भूकम्पपछि सुनामीको चेतावनी पनि जारी गरिएको थियो, यद्यपि त्यो चेतावनी अहिले हटाइएको छ। तर, सो क्रममा ७० सेन्टिमिटर (२७ इन्च) सम्मका छालहरू भने देखिएका थिए।

भूकम्पका कारण यातायात र विद्युत आपूर्तिमा समस्या देखिएको छ। केही रेल सेवाहरू स्थगित भएका छन् भने हजारौँ घरहरूमा बिजुली आपूर्ति बन्द भएको छ। समाचार एजेन्सी ‘रोयटर्स’ का अनुसार, करिब ९० हजार बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो। आओमोरी प्रिफेक्चरल सरकारले करिब २ हजार ७०० घरमा बिजुली आपूर्ति बन्द भएको जनाएको छ, भने पूर्वी जापान रेलवेले उत्तरपूर्वी तटमा केही रेल सेवाहरू स्थगित गरेको छ।

उच्च सतर्कताको आग्रह

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, अधिकारीहरूले आगामी दिनहरूमा अझ शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिँदै कम्तीमा एक हप्तासम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। मन्त्रिपरिषद्का सचिव मिनोरु किहाराले जापानी सरकारले प्रधानमन्त्रीको संकट व्यवस्थापन केन्द्रभित्र एउटा प्रतिक्रिया कार्यालय स्थापना गरी आपत्कालीन टोलीहरू बोलाएको जानकारी दिए।

कम्पनपछि जापानी बिजुली कम्पनी तोहोकु इलेक्ट्रिक पावरले आफ्ना हिगाशिदोरी र ओनागावा आणविक ऊर्जा केन्द्रहरूमा भूकम्पको परिणाम स्वरूप कुनै अनियमितता रिपोर्ट नगरिएको बताएको छ। जापानी अधिकारीहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई निष्क्रिय पारिएको फुकुशिमा आणविक ऊर्जा केन्द्र स्थलमा पनि कुनै समस्या नदेखिएको जानकारी गराएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *