फाइनल प्रवेशका लागि आज विराटनगर र सुदूरपश्चिम भिड्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायर आज मंगलबार लिग चरणका शीर्ष दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो महत्त्वपूर्ण खेल अपरान्ह ४ बजे सुरु हुनेछ।

आजको क्वालिफायर जित्ने टोली सिधै मंसिर २७ गते हुने फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि थप एक मौका पाउनेछ।

आज पराजित हुने टोलीले काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्सबीच हुने ‘एलिमिनेटर’ को विजेतासँग खेल्नुपर्नेछ।

लिग चरणमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए, जसका कारण उनीहरू शीर्ष दुईमा रहँदै क्वालिफायरमा स्थान बनाउन सफल भए।

लिग चरण

सुदूरपश्चिम रोयल्स – ७ खेल – ६ जित – १ हार – १२ अंक – प्रथम स्थान

विराटनगर किङ्स ७ खेल – ५ जित – २ – हार – १० अंक – दोस्रो स्थान

सुदूरपश्चिम रोयल्सले लगातार ६ खेलमा अपराजित रहँदै आफ्नो क्षमता प्रमाणित गरेको छ। १२ अंकसहित शीर्ष स्थानमा रहे पनि, लिग चरणको अन्तिम खेलमा उनीहरू विराटनगर किङ्ससँग ६ विकेटले पराजित भएका थिए। यो हारको बदला लिने चुनौती सुदूरपश्चिमलाई रहनेछ।

गत सिजन छैटौं स्थानमा रहेको विराटनगरले यसपटक उल्लेखनीय सुधार गरेको छ। उनीहरूले ७ मध्ये ५ खेलमा जित हासिल गर्दै १० अंक बटुलेका छन्। विराटनगरले सिजनको सुरुवातमै पोखरा, काठमाण्डु र जनकपुरलाई पराजित गरेको थियो। लिगको अन्तिम खेलमा सुदूरपश्चिमलाई हराउँदा टोलीको मनोबल उच्च छ।

लिग चरणमा दुई पटक आमने-सामने हुँदा दुवै टोलीले १/१ खेल जितेका छन्। यसले आजको खेल थप प्रतिस्पर्धात्मक हुने संकेत गर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *