माग पूरा नभए ‘जनविद्रोह’ हुने प्रसाईंको चेतावनी

काठमाडौँ। नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले सरकारले आफ्ना माग पूरा नगरे ‘जनविद्रोह’ हुने चेतावनी दिएका छन्।

सोमबार साँझ सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आफूहरूले राखेका माग सम्बोधन नभए ‘कसैले नसोचेको जनविद्रोह’ हुने चेतावनी दिएका हुन्।

प्रधानमन्त्री कार्कीसँग आफ्ना मागहरू स्पष्ट रूपमा राखेको उल्लेख गर्दै उनले यी मागहरू सिधै नागरिकको जनजीविकासँग सम्बन्धित रहेको जिकिर गरे।

‘प्रसाईंका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले मागहरूबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बताएकी छिन्।

‘प्रधानमन्त्री र गृहमन्त्रीले हाम्रा माग राम्रोसँग सुन्नुभयो। उहाँले यी मागहरू कम्युनिष्टले बोकेर हिँड्ने जनजीविकाका माग हुन्, तर उनीहरूले यसलाई भर्‍याङ मात्र बनाएर अर्बौं कमाए भन्नुभयो’ प्रसाईंले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘सबै कुरा अध्ययन गरेर पुस २ गते तपाईंहरूले भनेजस्तै निर्णय दिन्छु भन्नुभएको छ।’

प्रसाईंले सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन समयमा नहुने दाबीसमेत गरे। प्रधानमन्त्रीले सही निर्णय नलिएसम्म चुनावको सम्भावना नरहेको उनको भनाइ थियो।

‘चुनाव हुँदैन, आशै नगर्नु’ प्रसाईंले भने, ‘उहाँलाई यो व्यवस्था ठीक छैन भनेको छु। तपाईंले पनि नाती खेलाउने व्यवस्था ल्याउन जनमत संग्रहमा जाऔँ भनेर प्रस्ताव राखेको छु।’

‘२०६२-०६३ को जनआन्दोलनको म्याण्डेट संघीयता, धर्मनिरपेक्षता र राजसंस्था हटाउने नरहेको जिकिर गर्दै प्रसाईंले ‘किराँत, बौद्धसहितको हिन्दु अधिराज्य र राजसंस्था’ तथा अहिलेको व्यवस्थाका सम्बन्धमा जनमत संग्रह गर्न आग्रह गरे।

उनले भने, ‘२०६२–०६३ को आन्दोलनको म्याण्डेट संघीयता र धर्मनिरपेक्षता ल्याउने थिएन। कसरी भयो? इँजार जहाँ गाँठो परेको हो त्यहीँ फुकाउनुपर्छ। चङ्गाको धागो जहाँ चुँडिएको हो त्यहीँ गाँस्नुपर्छ। सबै विषयमा अब जनमत संग्रहमा जानुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *