कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा तीनजना स्रष्टालाई पुरस्कार
विराटनगर। विराटनगरस्थित कृष्णभूषण बल स्मृति प्रतिष्ठानले २०८१ सालका लागि विभिन्न तीन पुरस्कार तथा सम्मानको घोषणा गरेको छ।
प्रतिष्ठानको सोमबार बसेको कार्यसमिति बैठकले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरू र संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानले पाँच दशकभन्दा लामो समयदेखि नेपाली कविता र समालोचना विधामा अनवरत योगदान पुर्याएबापत भारतको पश्चिम बङ्गाल, कालेबुङ निवासी वरिष्ठ समालोचक तथा कवि डा. राजेन्द्र भण्डारीलाई ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार-२०८१’ प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कारको राशि २५ हजार छ।
यसअघि यो प्रतिष्ठित पुरस्कारबाट जसराज किराती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ, विष्णुविभु घिमिरे, दिनेश अधिकारी, शैलेन्द्र साकार र शिवशङकर थापाजस्ता वरिष्ठ स्रष्टाहरू सम्मानित भइसकेका छन्।
त्यस्तै, तीन दशकभन्दा बढी समयदेखि कविता विधामा सक्रिय रहँदै योगदान दिएबापत कवि ज्योति जंगललाई ‘कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान-२०८१’ प्रदान गरिने भएको छ। यसको राशि १५ हजार छ।
यसैगरी, दुई दशकदेखि कविता विधामा साधनारत मोरङका युवाकवि रमेशचन्द्र अधिकारीलाई ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार-२०८१’ प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि ११ हजार छ।
प्रतिष्ठानले स्रष्टाहरूलाई मात्र नभई संस्थागत योगदानको पनि कदर गरेको छ। नेपाली भाषा, साहित्य र संस्कृतिको समृद्धि तथा सेवामा लामो समयदेखि पुर्याएको योगदानका लागि धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयलाई सम्मान गर्ने निर्णय गरिएको छ।
प्रतिष्ठानका महासचिव विवश पोखरेलका अनुसार प्रमुख संरक्षक शोभा लामा बलको उपस्थिति र अध्यक्ष प्रा. डा. टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले यी निर्णयहरू गरेको हो।
घोषणा गरिएका पुरस्कार तथा सम्मानहरू आगामी पुस १९ गते शनिबार विराटनगरमा आयोजना हुने विशेष समारोहमा समर्पण गरिनेछ। साथै, आगामी वर्षदेखि उक्त पुरस्कारहरूको राशि वृद्धि गरी प्रत्येक दुई-दुई वर्षमा प्रदान गरिने निर्णय पनि प्रतिष्ठानले गरेको छ।
* * *

नेपाली साहित्यका सशक्त तथा कालजयी कवि कृष्णभूषण बल नेपाली कविताको इतिहासमा एक विशिष्ट नाम हो। विशेष गरी २०३६ सालको सडक कविता क्रान्ति र त्यसपछिका लोकतान्त्रिक आन्दोलनहरूमा उनका कविताहरूले ठूलो प्रभाव पारेका थिए।
जन्म: वि.सं. २००४ चैत १ गते (इलामको रवि, माल्टेनी)।
मृत्यु: वि.सं. २०६९ असार ११ गते (विराटनगर)।
वास्तविक नाम: टीका लामा (साहित्यमा कृष्णभूषण बल नामले परिचित)।
कार्यक्षेत्र: लामो समय नेपाल राष्ट्र बैंक, विराटनगरमा जागिरे जीवन। सँगै विराटनगर साहित्यिक कर्मथलो।
बल प्रगतिशील र प्रयोगवादी धाराका सशक्त कवि थिए। उनका कवितामा थोरै शब्दमा धेरै बोल्ने क्षमता र बिम्बहरूको सघन प्रयोग पाइन्छ। बलका कविताले पञ्चायती व्यवस्थाको विरोध, प्रजातन्त्रको वकालत र सीमान्तकृत वर्गको आवाज उठाएका छन्।
प्रमुख कृतिहरू : धेरै लेख्ने भन्दा पनि राम्रो र वजनदार लेख्ने सर्जक बलका चर्चित कृति ‘भोलि बास्ने बिहान’ (कविता सङ्ग्रह, २०४१), नेपाली आधुनिक कविताको एक उत्कृष्ट नमुना मानिन्छ। ‘द फुल मुन अन द रिभर बैंक’ लगायतका अङ्ग्रेजी अनुवादित कविताहरू पनि प्रकाशित छन्। सबैभन्दा चर्चित कविता ‘काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन’ ले राज्यको केन्द्रीकृत सत्ता र काठमाडौँको एकाधिकारमाथि कडा प्रहार गरेको छ। यो कविता आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ।
‘काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन’
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सकदैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।
नाघ्नुपर्छ पैतालाहरूले अब भन्ज्याङहरु
टेक्नुपर्छ आँखाहरूले अब सारा पहाडहरु
उड्नुपर्छ निश्चित लक्ष्यहरूमा अब यो छिमलका चराहरु
ज्वालामुखीझैँ फुट्नुपर्छ अब यो पिढीका स्वरहरु
छाम्दै हातिहरूले काँडाहरु अब टेक्न सक्नुपर्छ ।
काठमाण्डू त अब डाँडाहरूमा बिछिन सक्नुपर्छ ।
एउटै ढुङ्गाले कुनै घर बनिन सक्दैन, ढुङ्गाको तहतह हुनुपर्छ
एउटै पोखरीको कुनै ताल हुँदैन, थुप्रै दहदह जम्नुपर्छ
हुटिट्याउँले सागर थाम्न खोजेर–थामिन सक्दैन सागर
बर्खे भेलको सानो चपेटले–मेट्न खोजेर मेटिन्न बगर
पहाड मधेस थुम्काथुम्को र उकाली ओरालीको देश
कसेको पेवा होइन, कसैले ठेक्का लिएर पनि हुने हैन,
मुहान जो बग्नुपर्छ, जम्नु यसको कुनै अर्थ हुँदैन ।
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सकदैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।
खोरमा थुनिएर पनि बिहानीको सङ्केत दिन्छ कुखुराको भाले
निरर्थक प्रयासमा युग हाँस्छ बलिसकेको दिनलाई हुस्सुले ढाक्न खोजे
टुँडिखेलका प्रत्येक सुरुहरूमा घोडा छादेर त्यतिकै डटेकै छ इतिहास
टाप बजारेर कुदिरहेको घोडालाई त्यतिकै चाबुक लगाइरहेछ एउटा उपहास ।
अनिष्ठ भन्छन् सपनामा देखनेहरु पनि यस्तो कालो घोडा र कालो मान्छे
तर काठमाण्डू छातिमाथि बोकिरहेकै छ यस्ता कतिकति इतिहासका मान्छे
किन थाहा भएन तिमीलाई एउटा रौंलाई मात्र भनिन्न केश
किन थाहा भएन तिमीलाई एउटा इतिहासको मात्र हुँदैन देश
काठमाण्डू वास्तवमा भित्रभित्रै छटपटिएको छ
काठमाण्डू अर्को तरवारको विकास खोजिरहेको छ ऊ
युगका गह्रौं पाइलाहरु अब धेरै बोक्न सक्दैन
यसैले बग्ने निकास खोजिरहेको छ ऊ ।
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सकदैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।
|| भोलि बास्ने बिहान-२०४१ ||
