सुनसरीमा सीटी सफारी चालकको हत्या आरोपमा ७ जना पक्राउ
विराटनगर। सुनसरीको रामधुनी नगरपालिका-२ मा सीटी सफारी चालकको गोली हानी हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार पक्राउ परेकाहरूलाई सुनसरी र सप्तरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ। हत्याको कारण भने यकिन भइनसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गत असोज २५ गते साँझ रामधुनी-२ का ४५ वर्षीय दिनेशकुमार चौधरीको गोली हानी हत्या भएको थियो। उनी आफ्नो सफारी (प्र-१-०२-००४ ह ७८०४) लिएर उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले उनलाई गोली प्रहार गरी फरार भएका थिए।
बायाँ छातीमा गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएको थियो, तर शरीरबाट अत्यधिक रगत बगेका कारण उनको उपचारकै क्रममा मृत्यु भएको थियो।
