पहिलेका समानुपातिक सांसदले कांग्रेसको ‘टिकट’ नपाउने

काठमाडौँ। नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवार छनोटमा कडाइ गरेको छ। पार्टीले २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनिसकेका नेताहरूलाई फेरि सोही प्रणालीबाट उम्मेदवार नबनाउने नीति लिएको छ।

पार्टी विधानको धारा ३३ (२०) मा रहेको ‘दोहोर्‍याएर समानुपातिक सांसद हुन नपाउने’ व्यवस्थालाई कार्यान्वयन गर्न कांग्रेसले आफ्ना निर्वाचन क्षेत्रीय कार्यसमितिलाई स्पष्ट परिपत्र गरेको छ।

२०७९ मा समानुपातिकबाट निर्वाचित भएका नेताहरू अब समानुपातिकतर्फ सिफारिस हुन पाउने छैनन्। यसअघि समानुपातिक सांसद बनेका नेताहरूले भने आगामी निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवार हुन पाउनेछन्।

यसबाट आरजु राणा देउवा, मञ्जु खाण, जीवन परियार, प्रकाशशरण महत, विमलेन्द्र निधि लगायतका नेताहरू अब समानुपातिकबाट बाहिरिनेछन्। उनीहरूले प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ।

कांग्रेसले उम्मेदवार छनोट प्रक्रियालाई समयमै टुंग्याउन द्रुत गतिमा काम गरिरहेको जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयले १५ मंसिरमै उम्मेदवार छनोटका लागि विधानसम्मत मापदण्ड सहितको परिपत्र जारी गरिसकेको छ।

सिफारिसको समयसीमा

क्षेत्रबाटः २३ मंसिरभित्र सिफारिस गर्ने।

जिल्लाबाटः २५ मंसिरभित्र प्रदेशमा पठाउने।

प्रदेशबाटः २७ मंसिरभित्र केन्द्रमा नाम सिफारिस गरिसक्नुपर्ने।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार, मनोनयनको मुखमा मात्र उम्मेदवार छान्ने पुरानो प्रवृत्ति अन्त्य गरी समयमै तयारी गर्न पाउनु भन्ने उद्देश्यले नाम सिफारिस गर्न लगाइएको हो।

निर्वाचन आयोगमा समानुपातिकतर्फको सूची १९ पुसमा र प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन ६ माघमा गर्ने कार्यतालिका छ।

प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम निर्वाचन क्षेत्रीय कार्यसमितिले सिफारिस गर्नेछ। क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ एक महिलासहित दुई जनाको नाम सिफारिस गर्नुपर्ने विधानमा उल्लेख छ।

क्षेत्र, जिल्ला र प्रदेश हुँदै आएका नामहरूलाई केन्द्रमा सभापतिको अध्यक्षतामा बस्ने संसदीय बोर्डले अन्तिम टुंगो लगाउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *