वृद्ध दम्पतीलाई विष : सासूको मृत्यु, ससुरा गम्भीर, बुहारी पक्राउ

विराटनगर । मोरङको बेलबारी नगरपालिका-२, सिंहदेवी टोलमा एक गम्भीर र दुखद घटना सार्वजनिक भएको छ। बुहारीले विष मिसाएको खाना खुवाउँदा वृद्धा सासूको मृत्यु भएको छ भने वृद्ध ससुराको अवस्था गम्भीर छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३२ वर्षीया सुनीता कार्कीलाई पक्राउ गरेको छ।

स्थानीयका अनुसार शनिबार दिउँसो ७० वर्षीय भक्तबहादुर राई घर नजिकैको खोल्सामा बेहोस अवस्थामा फेला परेका थिए। उनलाई घर ल्याउँदा उनकी पत्नी ७७ वर्षीया इन्द्रमाया राई पनि बेहोस अवस्थामा ढलिरहेकी थिइन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार घर वरपर हेर्दा खोरमा रहेका तीनवटा कुखुरासमेत मरेको अवस्थामा भेटिए। बेहोस भेटिएका वृद्ध दम्पतीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरियो। आईसीयूमा उपचारका क्रममा इन्द्रमायाको राति १०ः४० बजेतिर मृत्यु भयो। भक्तबहादुरको अवस्था भने गम्भीर छ।

डीएसपी चौधरीका अनुसार घटनाको प्रकृति र कुखुरासमेत मरेको अवस्थाले खानामै विषादी प्रयोग भएको आशंका बलियो बनेपछि अनुसन्धान अघि बढाइएको थियो। प्रारम्भिक अनुसन्धानबाट वृद्ध दम्पतीसँगै बस्दै आएकी भतिजी बुहारी सुनीता कार्कीले खानामा विष मिसाएर खुवाएको पत्ता लागेको प्रहरीले जनाएको छ। उनीहरूले खाएर उब्रेको खाना कुखुरालाई खुवाउँदा ती कुखुरा पनि मरेका थिए।

सुनीतालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ। उनलाई कर्तव्य ज्यान मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको डीएसपी चौधरीले बताए। प्रहरीले घटनास्थलबाट विषादीको बट्टा समेत अँगेनोमा जलाइएको अवस्थामा फेला पारेको छ।

प्रहरीका अनुसार, मृतक इन्द्रमाया र गम्भीर घाइते भक्तबहादुरका आफ्ना सन्तान नभएकाले उनीहरू भतिजो प्रशान राई र उनकी पत्नी सुनीतासँग बस्दै आएका थिए। भतिजो घर बाहिर रहेका बेला सुनीताले यो जघन्य अपराध गरेको प्रहरीको अनुमान छ। विष खुवाउनुको वास्तविक कारण पत्ता लाग्न बाँकी छ।

प्रहरीले पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र विषादीको प्रयोगबारे प्रयोगशाला जाँचपछि मात्रै वास्तविक कारण पुष्टि हुने र घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *