प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै कांग्रेस पनि सर्वोच्च अदालतमा
काठमाडौँ । विघटित प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले पनि संसद पुनःस्थापनाको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ।
आइतबार कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशिला थिङले पूर्वमहान्यायाधिवक्ता खम्बहादुर खातीलाई वारेस राखेर रिट निवेदन दर्ता गराएका हुन्।
यसअघि नेकपा (एमाले) ले पनि छुट्टै रिट निवेदन दर्ता गरिसकेको छ। मंसिर १७ गते एमालेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ। कांग्रेस र एमालेअघि नै अधिवक्ताहरू र नागरिकस्तरबाट गरी १६ वटा रिट निवेदन दर्ता भइसकेका छन्।
कांग्रेस र एमालेले संयुक्त रूपमा रिट दर्ता गर्ने भनिए तापनि केही दिनको फरकमा दुवै दल पुनःस्थापनाको माग लिएर सर्वोच्च पुगेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच शुक्रबार भएको भेटवार्ताले कांग्रेसलाई पनि रिटमा जान प्रेरित गरेको बुझिएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण भदौ २७ गते प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि चुनाव घोषणा गरिएको थियो।
