साविक विजेता जनकपुरको खराब प्रदर्शन, कर्णालीसँग पराजित

काठमाडौँ । नेपाल प्रमियर लिग (एनपीएल) मा साविक विजेता जनकपुर बोल्ट्सले आफ्नो खराब प्रदर्शनलाई अन्तिम खेलमा पनि निरन्तरता दिँदै अंकतालिकाको पुछारमा रहेर सिजनको अन्त्य गरेको छ।

कर्णाली याक्सले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्स १२६ रनमा समेटियो। यससँगै कर्णालीले ३ रनको रोमाञ्चक जित निकालेको छ।

जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्। उनका लागि थप दोहोरो स्कोर बनाउने क्रममा संगीत कोरीले २५ रन, माज सदाकले १२ रन र जन निकोल लोफ्टाइ इटनले १३ रनको अविजित इनिङ्स खेले। तर, इटनको प्रयास पनि टिमको हार टार्न पर्याप्त भएन।

कर्णाली याक्सका लागि विलियम बोसिस्टोले सर्वाधिक २ विकेट लिए। यस्तै, मार्क वाट, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले १-१ विकेट हात पारेका थिए। टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो। इमरान शेखले सर्वाधिक ३३ रन बनाए।

गुल्सन झाले १० रन बनाए भने प्रियंक पञ्चलले १६ रन जोडे। विलियम बोसिस्टोले १५ रन बनाउँदा सोमपाल कामी १८ रनमा अविजित रहे। जनकपुरका लागि आदित्य महता र ललित राजवंशीले २-२ विकेट लिएका थिए। संगीत कोरी, अनिल साह र मज सदाकले पनि १-१ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *