पुलिसलाई अर्जुनधारा महिला भलिबलको उपाधि
बिर्तामोड। झापामा पहिलोपटक आयोजना गरिएको राष्ट्रियस्तरको अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आज आइतबार भएको उच्च प्रतिस्पर्धात्मक फाइनल खेलमा पुलिसले आफ्नो चिरपरिचित विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।
उपाधिसँगै नेपाल पुलिस क्लबले नगद दुई लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेतामा सीमित भएको एपिएफ क्लबले नगद एक लाख रुपैयाँमा चित्त बुझायो।
फाइनल खेल निकै रोमाञ्चक बनेको थियो। पुलिसले पहिलो सेट २५–२३ ले जिते पनि एपिएफले दोस्रो सेट २५–२० ले खोस्यो। तर, त्यसपछि पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो सेट २५–१८ र निर्णायक चौथो सेट २५–२१ ले जितेर उपाधि सुरक्षित गरेको थियो।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी पुलिस क्लबकी आशिका क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले नगद १५ हजार र ट्रफी प्राप्त गरिन्। बेस्ट कोचको उपाधि पुलिसकै रुपेश विष्ट ले १० हजार रुपैयाँसहित हात पारे।
त्यसैगरी, उत्कृष्ट प्रदर्शन गर्ने अन्य खेलाडीहरूमा बेस्ट ब्लकर मनिषा चौधरी (पुलिस) र बेस्ट सेटर कमला पुन (पुलिस) पनि घोषित भए। एपिएफबाट बेस्ट स्पाइकर सृष्टि खड्गी, बेस्ट सर्भर जोस्ना महतो र बेस्ट लिबेरो जमुना रसाइलीले व्यक्तिगत पुरस्कार जिते। यी सबै विधाका विजेताहरूले नगद १० हजार र ट्रफी प्राप्त गरे।
लक्ष्मी माविको खेलमैदानमा सम्पन्न भएको यस प्रतियोगिताको आयोजक अर्जुनधारा नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी मावि थिए। विजेता तथा उपविजेतालाई अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन लगायतले पुरस्कार वितरण गरेका थिए।
