साविक विजेता जनकपुर र कर्णालीबीच आज ‘प्रतिष्ठाको लडाइँ’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज आइतबार दुई संघर्षरत टोली-साविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स आमने-सामने हुँदैछन्। प्लेअफ दौडबाट बाहिरिइसकेका यी दुई टोलीका लागि आजको खेल केवल प्रतिष्ठाको लडाइँ हुनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने यो खेलले अंक तालिकाको पुछारमा कुन टिम रहने भन्ने टुंगो लगाउनेछ।
आजको खेल ‘बटम अफ द टेबल’ को भिडन्त हो। कर्णाली याक्स ६ खेलमा १ जित र ५ हारसहित २ अंक जोडेर सातौँ स्थानमा छ। जनकपुर बोल्ट्स ६ खेलमा १ जित र ५ हारसहित अंक तालिकाको पुछारमा (आठौँ स्थान) मा छ।
गत सिजन सुदूरपश्चिम रोयल्सलाई हराएर च्याम्पियन बनेको जनकपुर बोल्ट्सका लागि यो सिजन निकै बिर्सनेलायक रह्यो।
लिगमा लगातार ४ हारपछि पाँचौँ खेलमा मात्र चितवन राइनोजविरुद्ध जित निकालेको थियो।
काठमाण्डू, विराटनगर, पोखरा, सुदूरपश्चिम र लुम्बिनीसँग हार व्यहोरेको जनकपुर आज जितसहित सुखद अन्त्य गर्ने दाउमा छ।
पहिलो संस्करणमा इलिमिनेटर खेलेको कर्णालीको प्रदर्शन पनि यसपटक कमजोर रह्यो। लुम्बिनी लायन्सविरुद्ध ९ विकेटको एक मात्र जित निकालेको कर्णालीले अन्य ५ खेलमा हार व्यहोरेको छ।
चितवन, सुदूरपश्चिम, विराटनगर, काठमाण्डू र पोखरासँग पराजित कर्णाली आज जनकपुरलाई हराएर अन्तिम स्थानमा रहनबाट बच्न चाहन्छ।
