एसईईका विद्यार्थी : उमेर नपुग्नेको जन्मदर्ता सच्याउने अवसर
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन तोकिएको न्यूनतम उमेर नपुगेर वञ्चित हुने अवस्थामा रहेका विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले ठूलो राहत दिएको छ। बोर्डले शुक्रबार सूचना जारी गर्दै सबै माध्यमिक विद्यालयहरूलाई आवश्यक प्रक्रिया मिलाई विद्यार्थीहरूको जन्मदर्ता सच्याउन अनुरोध गरेको छ।
शिक्षा नियमावली २०५९ को छैटौं संशोधन (मिति २०६७/१०/०९) अनुसार एसईईमा सहभागी हुनका लागि चैत मसान्तसम्ममा विद्यार्थीको उमेर चौध वर्ष पूरा हुनुपर्ने व्यवस्था छ। कतिपय विद्यार्थीको जन्मदर्तामा उल्लिखित उमेर अवधि नपुग्ने गरी प्रमाणपत्र जारी भएकाले उनीहरू परीक्षाबाट वञ्चित हुने अवस्था आएको थियो।
अभिभावक, विद्यालय र स्थानीय तहबाट बोर्ड तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा यस विषयमा समाधान खोज्न अनुरोध भएको थियो। नेपाल सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा ७२’ अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा २५ (१) मा संशोधन गरेको छ।
यस संशोधनले कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्ने व्यवस्था गरेको छ।
बोर्डले मिति २०८२/०८/१५ गते अध्यक्षस्तरीय निर्णय गर्दै विद्यालयहरूलाई यो संशोधन कार्यमा सहजीकरण गर्न अनुरोध गरेको छ। विद्यालयहरूले सम्बन्धित स्थानीय तह र सो अन्तर्गतका स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट माग भएमा कक्षा १ मा विद्यार्थी भर्ना हुँदाको प्रमाणित अभिलेख उपलब्ध गराई जन्मदर्तामा उल्लिखित विवरण संशोधन गर्ने कार्यमा सघाउनु पर्नेछ।

