सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले लगायो ‘ब्रेक’
काठमाडौं। फाफ डु प्लेसी र साम हिजलेटको आक्रामक अर्धशतकको मद्दतमा विराटनगरले किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गरेको छ। यो जितसँगै विराटनगरले सुदूरपश्चिमको ६ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ।
पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोएल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। आरिफ शेखले अविजित ४५ रन, इशान पाण्डेले ३८ रन र जोश ब्राउनले २४ रन बनाए।
विराटनगरका कप्तान सन्दीप लामिछानेले २० रन खर्चेर ३ विकेट लिए भने प्रतिश जिसीले २ विकेट लिए। विराटनगरले १४८ रनको लक्ष्य ११।५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउँदै पूरा गर्यो।
ब्याटिङमा साम हिजलेटले ५१ रन र फाफ डु प्लेसीले ५० रनको आक्रामक योगदान दिए।
डु प्लेसी र हिजलेटले पावरप्लेमा कीर्तिमानी ८७ रनको साझेदारी गरे। डु प्लेसीले १९ बलमै अर्धशतक पूरा गर्दै एनपीएलको संयुक्त रूपमा दोस्रो छिटो अर्धशतक बनाए।
मार्टिन गप्टिलले ९ बलमा २२ रन र प्रतिश जिसीले अविजित १३ रन जोडे। यो जितपछि विराटनगरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ।
विराटनगरले काठमाडौंलाई नेट रनरेटमा पछि पार्दै अंकतालिकामा दोस्रो स्थान सुरक्षित गरेको छ। काठमाडौंको पनि समान १० अंक छ।
शीर्ष दुईमा रहन सफल भएपछि विराटनगरले अब पहिलो क्वालिफायर खेल शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोएल्ससँगै खेल्ने पक्का भएको छ।
सुदूरपश्चिमले यसअघि नै शीर्ष स्थानमा रहने पक्का गरिसकेको थियो र आजको खेलमा स्कट कुगेलेइन र क्रिस लिनजस्ता मुख्य खेलाडीहरूलाई आराम दिएको थियो।
