एउटा सुदूर सोच

पहिलो कुरा- थाहा हुनलाई आफूलाई थाहा छैन भन्ने कुरा थाहा हुनुपर्छ।

दोस्रो कुरा- म जान्दिनँ भन्ने कुरा नै जानिएन भने, जीवन नजानेरै बित्दोरहेछ।

यी निद्रामा देखिएका सपनाहरू

यी जागरणमा देखिएका सपनाहरू

यी भेदहरू

थाहा हुनुको सीमा

जान्नुको मापदण्ड

ब्युँझनुको दायरा

जागरणको निद्रा बन्छ झनै अद्भुत।

सद्गुरुहरू भन्नुहुन्छ,

कान्छी औँलाको एक छेउले

शरीरको कुनै एक छेउमा कोट्याउँदा

जति चाया झर्छ

हो, अहिलेसम्म जीवनको रहस्य त्यत्ति मात्रै कोट्याइएको छ रे।

अहिले सबै थाहा भयो भने भावी हजारौँ, लाखौँ वर्ष मान्छे के गरेर बस्छ फेरि र?

हो, यो जीवन र जगतका

रहस्यहरू

आश्चर्यहरू

विस्मयहरू

भावहरू

अहिल्यै टुङ्गोमा पुगे मान्छेको के गति होला फेरि र?

मान्छेले जीवन कसरी बाँच्छ होला यति लामो समय, हँ?

महासय, कहिलेकाहीँ तपाईंलाई यस्तो लाग्दैन कि-

अबको पाँच सय वर्ष

एक हजार वर्ष

दश हजार वर्ष

मानौँ एक लाख वर्षपछि

हाम्रो इलाम कस्तो होला?

हाम्रो देश कस्तो होला?

अमेरिका, रुस, भारत वा चीन

या रुवाण्डा, युगाण्डा

अर्थात् यो पृथ्वी कस्तो होला?

के तपाईंलाई त्यतिबेला पनि एकपटक जन्मन पाए हुन्थ्यो होला भन्ने लाग्दैन र?

मलाई त-

कुनै धर्म गरेर

पुण्य प्राप्त गरेर

वा प्रार्थनामा रहेर

गरुढ पुराण सुनेर

या अठार पुराण सुनेर/सुनाएर

वा गीता पाठ गरेर

कुरान, त्रिपिटक, बाइबल, वा किराँत मुन्दुम पाठ गरेर

मुक्ति हुन

कैवल्य वा प्रभुको राज्यमा प्रवेश गर्न

या महापरिनिर्वाण प्राप्त गर्ने मन छैन।

किनकि-

मलाई त ती भावी दिनहरू धेरै पटक हेर्न मन छ,

कयौँ पटक बेहोर्न मन छ।

अनि कहिलेकाहीँ यस्तो लाग्छ-

के त्यो सौभाग्य

त्यो अहोभाग्य

मेरो निधारमा लेखिएको छ होला?

कि यो निधारमा यसपटकको जुनीको मात्रै भाग्य लेखिएको हुन्छ, हँ?

त्यसो भए अर्को जुनीको भाग्य लेखिएको निधार कहाँ छ महासय?

त्यतिबेलासम्म त यो स्पेसको रहस्य पनि त पत्ता लागिसकेको हुनेछ होला नि, होइन र?

हिजो भोजपुरबाट झुमा, मोटे, कार्कीहरू मुग्लान गए झैँ

आज साउदी, कतार गए झैँ

ती भावी दिनहरूमा

मान्छे काम खोज्दै चन्द्रमा, मङ्गल ग्रह या अन्य कतै गएको हेर्न मन छैन महासय, तपाईंलाई?

अनि फेरि कहिलेकाहीँ अर्को यस्तो पनि लाग्छ-

कि ती भावी दिनहरूमा पनि हामी नेपालीहरू चाहिँ

के काम खोज्दै नै हुनेछौँ त यसैगरी?

के काम दिने हैसियत हुनेछैन, हँ?

त्यसो भए त फेरि के जन्म लिनु र अर्को र?

बस… बस… बस… यति नै।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *