अर्जुनधारा महिला भलिबल : कोशीलाई सोझो सेटमा हराउँदै पुलिस सेमिफाइनलमा
बिर्तामोड । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल सङ्घलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह ‘बि’ को विजेता बन्न सफल भयो ।
नेपाल पुलिसले कोशी प्रदेशलाई १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा स्तब्ध पारेको थियो । आजको हारसँगै कोशी प्रदेश भने समूह चरणका दुवै खेलमा पराजय भोगेका कारण प्रतियोगिताबाट बाहिरिएको छ ।
उक्त खेलको प्लेयर अफ द म्याच पुलिसकी आशिका क्षेत्री भइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी गजेन्द्र साउदेनलगायतले नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरे । प्रतियोगितामा शनिबार दुईवटै सेमिफाइनल खेल हुनेछन् ।
पहिलो सेमिफाइनल: समूह ‘ए’ को विजेता एपीएफ र समूह ‘बि’ को उपविजेता न्यु डायमन्डबीच हुनेछ ।
दोस्रो सेमिफाइनल: समूह ‘बि’ को विजेता पुलिस र समूह ‘ए’ को उपविजेता आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदानमा हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए ।
