बेलिब्रिज जोडिँदै, सगरमाथा लोकमार्गमा यातायात चल्ने
विराटनगर । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ ।
मोटरेबल पक्की पुल बाढीले बगाएपछि लामो समयदेखि अवरुद्ध रहेको यस सडकखण्डमा बेलिब्रिज सञ्चालनमा ल्याउन लागिएको हो ।
यो बेलिब्रिजले खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्नेछ । विगत छ महिनादेखि अवरुद्ध रहेको यस सगरमाथा लोकमार्गमा बेलिब्रिज जडानको काम सुरु भएसँगै पूर्वी तराईका जिल्लासँग खोटाङको सिधा यातायात सञ्चालन हुने निश्चित भएको छ ।
गाईघाट–दिक्तेल सडक योजना कार्यालयका अनुसार, जडान सुरु गरिएको अस्थायी बेलिब्रिज यही मंसिर अन्तिमदेखि नियमित हुने भएको छ ।
योजना कार्यालयले बेलिब्रिज जडानको ठेक्का सम्झौता भइसकेको र सम्पूर्ण सामग्री तयारी अवस्थामा पुगेकाले अबको केही दिनभित्रै काम सम्पन्न हुने जनाएको छ ।
योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीका अनुसार, आगामी पुस १५ गतेभित्र अस्थायी बेलिब्रिज जडानको काम सम्पन्न गरेर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
