एनपीएलमा आज : लुम्बिनी-जनकपुर

काठमाडौं। काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ। यो खेल अपराह्न ४:०० बजे सुरु हुनेछ।

लुम्बिनी लायन्सका लागि आजको खेल ‘गर या मर’ सरह छ। हालसम्म ६ खेल खेलेर ६ अंक जोडेको लुम्बिनीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नका लागि आजको खेल जित्नैपर्छ।

यदि लुम्बिनी विजयी भएमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफको दौडबाट औपचारिक रूपमा बाहिरिनेछन्। अर्कोतर्फ, साविक विजेता जनकपुर बोल्ट्सको यस सिजन प्रदर्शन फितलो देखिएको छ। जनकपुरले हालसम्म खेलेका पाँच खेलबाट जम्मा दुई अंक मात्र जोडेको छ।

बिहीबारको खेलसँगै दुई टोलीले प्लेअफमा आफ्नो स्थान पक्का गरिसकेका छन् । लगातार ६ खेल जितेर सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ।

बिहीबार भएको खेलमा शाहब आलमको ह्याट्रिकसहितको ६ विकेटको शानदार बलिङ प्रदर्शनको मद्दतले काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई हराएर प्लेअफमा प्रवेश गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *