चितवनलाई हराउँदै सुदूरपश्चिम क्वालिफायर वानमा, विराटनगर पनि प्लेअफमा

काठमाडौं। क्रिस लिनको पहिलो अर्धशतक र बलरहरूको सन्तुलित प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर वान खेल्ने पक्का गरेको छ। लिग चरणमा लगातार छैटौँ खेल जित्दै अपराजित रहेको सुदूरपश्चिम १२ अंकसहित शीर्ष दुईमा रहने पक्का भएपछि पहिलो क्वालिफायरमा प्रवेश गरेको हो।

चितवनको हारले विराटनगरलाई फाइदा

सुदूरपश्चिमसँग चितवन राइनोज पराजित भएपछि लिगको एक खेल अगावै तेस्रो स्थानमा रहेको विराटनगर किंग्स पनि प्लेअफमा पुगेको छ। ६ खेलबाट ८ अंक जोडेको विराटनगरलाई अब लुम्बिनी लायन्सबाहेक कुनै पनि टिमले भेट्न नसक्ने भएपछि फाइदा पुगेको हो।

यस्तै, चितवनको यो चौथो हार हो। ६ खेलबाट ४ अंक रहेको चितवन छैटौँ स्थानमा छ र उसको प्लेअफ पुग्ने होड कमजोर बनेको छ। पोखरा एभेन्जर्स र चितवन राइनोजको हारपछि लुम्बिनी लायन्स लाई पनि फाइदा पुगेको छ, जसले अब शुक्रबार जनकपुरलाई पराजित गरेमा प्लेअफमा स्थान सुरक्षित गर्नेछ।
खेलको विवरण

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको डे-नाइट म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले क्रिस लिनको अर्धशतकको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि लिनले सर्वाधिक ७५ रन बनाए। उनले ५६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरेपछि १७औँ ओभरमा रिटायर भएका थिए। लिनले विनोद भण्डारीसँग ४६ रनको र पाँचौँ विकेटका लागि आरिफ शेखसँग ४५ रनको महत्त्वपूर्ण साझेदारी गरे। यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै १४ बलमा २ छक्कासहित अविजित २४ रन बनाउँदा आरिफ शेखले पनि २४ रन जोडेका थिए। चितवनका लागि सैफ जैबले २ विकेट लिएका थिए।

जवाफमा १७० रनको लक्ष्य पछ्याएको चितवन राइनोज १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमा अलआउट भयो। चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन, देव खनालले २८, अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए पनि जितका लागि पर्याप्त भएन।

चितवनलाई सस्तैमा समेट्न सुदूरपश्चिमका बलर पुनित मेहरा ले उत्कृष्ट प्रदर्शन गरे। उनले २.१ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। यस्तै, दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले पनि १-१ विकेट लिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *