अर्जुनधारा महिला भलिबल : पुलिसको शानदार जित
बिर्तामोड । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले महत्त्वपूर्ण जित दर्ता गरेको छ। आज भएको प्रतिस्पर्धामा पुलिसले न्यु डायमन्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा आफ्नो पकड बलियो बनाएको हो।
आजको दोस्रो खेलमा नेपाल पुलिस क्लबले न्यु डायमन्डलाई ३–० को सोझो सेटमा स्तब्ध पारेको हो। पुलिसले १९–२५, १४–२५ र १७–२५ को प्रभावशाली सेट अन्तरमा डायमन्डमाथि विजय हासिल गर्यो। खेलको उत्कृष्ट प्रदर्शन गरेबापत पुलिसकी रिमा कुँवर प्लेयर अफ द म्याच घोषित भइन्। उनलाई नगद सौजन्यकर्ता व्यवसायी बलराम कार्कीलगायतले नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरे।
प्रतियोगिताअन्तर्गत भोलि मंसिर १९ गते दुई खेल हुँदैछन्। भोलिको पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। सोही दिन दोस्रो खेलमा कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ।
झापामा पहिलोपटक राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता आयोजना भइरहेको छ। प्रतियोगिताको फाइनल खेल अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदानमा मंसिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए। प्रतियोगिताको विजेताले २ लाख, दोस्रो हुने टिमले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए।
यसैगरी, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, उत्कृष्ट विधाका (स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरो) खेलाडीले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन्।
