ठूला दरका भारतीय नोटहरू चलाउन भारतले दियो अनुमति
काठमाडौँ। नेपालमा अब १०० रुपैयाँ भन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) चलनचल्तीमा ल्याउनका लागि औपचारिक रूपमा बाटो खुलेको छ। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले नेपालमा ठूला दरका भारु सटहीका लागि अनुमति दिएको हो।
हाल नेपालमा केवल १०० दरको भारु मात्र चलनचल्तीमा छ। भारतले अनुमति दिएसँगै अब २०० र रु ५०० दरका भारु नोटहरू नेपालमा चलाउन पाइने भएको छ।
भारतीय बैंकले अनुमति दिए पनि यो व्यवस्था तत्काल कार्यान्वयनमा आउन भने बाँकी छ।
हाल नेपाल राष्ट्र बैंकको निर्देशनकै कारण १०० भन्दा ठूला दरका भारु नोटहरू चलनचल्तीमा छैनन्।
नयाँ व्यवस्थालाई कार्यान्वयनमा ल्याउन अब नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्नुपर्नेछ। राष्ट्र बैंकले निर्देशन जारी गरेपछि मात्र नागरिकले ठूला दरका भारु चलनचल्तीमा ल्याउन पाउनेछन्।
सन् २०१६ मा भारतले ५०० र १००० दरका नोटहरू चलनचल्तीबाट हटाएपछि नेपालमा भएका ती नोटहरू अझै साटिएका छैनन्, जसकारण राष्ट्र बैंकले ठूला दरका भारु सटही नगर्ने निर्देशन जारी गरेको थियो।
नयाँ व्यवस्थाले विशेषगरी २०० र ५०० दरका भारु नेपालमा सटहीका लागि बाटो खोलिदिएको हो। भारतमा २ हजार दरका नोट छापिन बन्द भएका छन्।
भारतले भारु २५ हजारसम्म नेपाल र भुटान ल्याउन, लैजान अनुमति दिएको छ। यसअघि भारु २५ हजारसम्म भारतबाट ल्याउन अनुमति भए पनि लैजान पाउने व्यवस्था थिएन।
