लुम्बिनीसँग हार्यो विराटनगर
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले आज विराटनगर किङ्ग्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ। लुम्बिनीको जितमा अष्ट्रेलियन ब्याटर डार्शी सर्ट ले पहिलो अर्धशतक प्रहार गर्दै महत्त्वपूर्ण भूमिका खेले।
विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा नायक बनेका डार्शी सर्टले ४४ बलमा ६ चौका र २ छक्का को मद्दतले सर्वाधिक ५७ रन बनाए।
उनलाई विकेटकिपर निरोशन डिकवेलाले अविजित २९ रन बनाउँदै उत्कृष्ट साथ दिए। यस्तै, सन्दीप जोराले २४ र दिलीप नाथले १६ रन जोडे।
सर्टले डिकवेलासँग चौथो विकेटका लागि निर्णायक ४६ रनको साझेदारी गरेर टिमलाई जित नजिक पुर्याएका थिए। विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभाष भण्डारी ले समान २–२ विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन्।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्ग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। लोकेश बमले ४२ बलमा ३५ रन जोडे। बसिर अहमदले २८ र साम हिजलेटले २७ रनको योगदान दिए। दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिस ले यसै खेलबाट डेब्यु गरे पनि ९ बलमा १२ रन बनाएर आउट भए। लुम्बिनीका लागि शेर मल्लले २४ रन खर्चेर ३ विकेट लिए भने जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले १–१ विकेट हात पारे।
यो जितसँगै लुम्बिनी लायन्सले ६ खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ। अब लुम्बिनीले लिगको अन्तिम खेल शुक्रबार जनकपुर बोल्ट्ससँग खेल्नेछ। उक्त खेल जितेर अन्य खेलको नतिजा आफ्नो पक्षमा आए मात्र लुम्बिनी प्लेअफमा पुग्नेछ। विराटनगरले भने ६ खेलमा दोस्रो हार व्यहोरे पनि ८ अंकका साथ तेस्रो स्थानमा यथावत् छ। अब उसले लिगको अन्तिम खेल शनिवार प्लेअफ पुगिसकेको सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। अन्य खेलको नतिजाले विराटनगरको प्लेअफ यात्राको समीकरण स्पष्ट पार्नेछ।
