अर्जुनधारा महिला भलिबल : एपिएफ र न्यु डायमन्डको विजयी सुरुवात
बिर्तामोड। झापाको अर्जुनधारामा पहिलो पटक सुरु भएको राष्ट्रियस्तरको ‘अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिता’ मा दुई ठूला टोली नेपाल एपिएफ क्लब र न्यु डायमन्ड क्लबले सानदार विजयी सुरुवात गरेका छन्।
बुधबार भएको उद्घाटन खेलमा विभागीय टोली एपिएफले एभरेस्ट लुम्बिनी क्लबमाथि ३–० को सहज जित निकालेको हो। एपिएफले एभरेस्टलाई २५–११, २५–१५ र २५–२२ को सोझो सेटमा पराजित गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी नेबिका चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
त्यस्तै, आजै भएको दोस्रो खेलमा न्यु डायमन्ड क्लबले कोशी प्रदेशको टोलीलाई निरिह बनायो। न्यु डायमन्डले कोशी प्रदेशलाई २५–१४, २५–८ र २५–९ को फराकिलो अन्तरसहित ३–० को सोझो सेटमा हराएको हो। यो खेलको ‘प्लेयर अफ द म्याच’ न्यु डायमन्डकी जेनिसा विश्वकर्मा भइन्।
दुवै खेलका ‘प्लेयर अफ द म्याच’ लाई प्रमुख अतिथि पूर्वकानुनमन्त्री अग्नि खरेल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन लगायतले जनही नगद ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरे।
भोलिको खेल तालिका प्रतियोगिता अन्तर्गत बिहीबार (भोलि) दुई खेल हुनेछन्। पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको स्वरूप र पुरस्कार नगर खेलकुद विकास समिति अर्जुनधाराको आयोजना र लक्ष्मी माविको सह–आयोजनामा सञ्चालित प्रतियोगितामा ६ टोली सहभागी छन्। समूह ‘ए’ मा एपिएफ, एभरेस्ट र आर्मी छन् भने समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र पुलिस रहेका छन्।
मंसिर २१ गते फाइनल हुने यस प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
