कांग्रेसमा ‘पुस्तान्तरण’ ? : गगनद्वारा सभापतिमा उम्मेदवारी घोषणा
काठमाडौँ। नेपाली कांग्रेसभित्र लामो समयदेखि बहसको विषय बन्दै आएको ‘नेतृत्व हस्तान्तरण’ को मुद्दाले अब ठोस आकार लिने भएको छ।
कांग्रेसका महामन्त्री तथा लोकप्रिय युवा नेता गगन थापाले आसन्न १५औँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।
यो घोषणा केवल पदको दाबी मात्र होइन, यो कांग्रेसभित्रको यथास्थितिवादी परम्परालाई तोडेर पार्टीलाई नवीन गति दिने एउटा निर्णायक उद्घोष हो।
‘हिमालयन टेलिभिजन’ को चर्चित कार्यक्रम ‘यक्ष प्रश्न’ मा पत्रकार निमेष बन्जाडेसँगको कुराकानीमा थापाले आफ्नो उम्मेदवारीबारे कुनै दुविधा नरहेको प्रष्ट पारेका हुन्।
बन्जाडेको जिज्ञासामा थापाले भने, ‘त्यसमा त कुनै डाउट (शंका) नै भएन नि, म पन्ध्रौं महाधिवेशनको सभापतिको उम्मेदवार हो।’
महाधिवेशनको मिति घोषणा भएपछि पहिलो पटक मिडियामा खुलेर आएका थापाको यो आत्मविश्वासले कांग्रेस वृत्तमा नयाँ तरङ्ग ल्याएको छ।
उनले थपे, ‘मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले पन्ध्रौं महाधिवेशनबाट यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ।’
थापाको उम्मेदवारी घोषणालाई सामान्य राजनीतिक परिघटनाका रूपमा मात्र हेर्न मिल्दैन। यसका पछाडि केही गम्भीर आयामहरू छन्।
कांग्रेसको पुरानो पुस्ताबाट नेतृत्व नयाँ पुस्तामा सर्नुपर्छ भन्ने आवाज तल्लो तहका कार्यकर्तादेखि आम जनतासम्म प्रबल छ। गगन थापा त्यो आवाजको मुख्य प्रतिनिधि पात्र हुन्। उनको उम्मेदवारीले ‘अब कांग्रेस सुध्रिन्छ र बदलिन्छ’ भन्ने आशा जगाएको छ।
अन्तर्वार्तामा थापाले केवल सभापति बन्ने रहर मात्र गरेनन्, उनले ुनयाँ कांग्रेसको प्रारूपु कस्तो हुनेछ भन्ने खाका पनि प्रस्तुत गरेका छन्। चुनावमा जानुअघि सर्वपक्षीय सहमतिका प्रस्तावहरू अघि सार्नुले उनीसँग स्पष्ट ‘भिजन’ रहेको संकेत गर्छ।
काठमाडौँका मेयर बालेन शाह लगायतका नयाँ र स्वतन्त्र शक्तिहरूको उदय भइरहेको समयमा, कांग्रेसले पनि आफूलाई समयसापेक्ष बनाउनुपर्ने चुनौती छ।
थापाले बालेनसहितका नेताहरूसँगको सम्बन्ध र सहकार्यका विषयमा पनि आफ्नो धारणा राखेका छन्, जसले उनी परम्परागत घेराभन्दा माथि उठेर सोच्न सक्ने नेता हुन् भन्ने देखाउँछ।
थापाको लोकप्रियता छ तर पार्टीको आन्तरिक संरचना र गुटगत राजनीतिमा उनले कसरी सन्तुलन मिलाउँछन् भन्ने चासोको विषय हो। यद्यपि, उनले दाबी गरेजस्तै बहुसंख्यक कार्यकर्ताले ‘परिवर्तन’ रोजे भने कांग्रेसको १५औँ महाधिवेशन नेपाली राजनीतिको इतिहासमा एउटा ‘टर्निङ पोइन्ट’ साबित हुन सक्छ।
यो विशेष अन्तर्वार्ता आज बुधबार राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुँदैछ। के कांग्रेसले गगन थापाको नेतृत्वमा साँच्चै काँचुली फेर्ला? यो समयले बताउनेछ, तर आजको घोषणाले परिवर्तनका पक्षधरहरूलाई पक्कै उत्साहित बनाएको छ।
