क्यानाडामा नेपाली विद्यार्थी : अब तेस्रो ठूलो संख्या
काठमाडौँ। क्यानाडाको सार्वजनिक कलेज प्रणालीमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या पछिल्लो नौ वर्षमा करिब चार गुणाले बढेको छ। यो तीव्र वृद्धिमा नेपाली विद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण देखिएको छ।
क्यानाडाको तथ्याङ्क विभागको तथ्याङ्क अनुसार, सन् २०१४ देखि २०२३ सम्मको अवधिमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या ३९७ प्रतिशतले बढेर २ लाख ८८ हजार ७९८ पुगेको छ। यो वृद्धिसँगै, कलेजमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्याले पहिलो पटक विश्वविद्यालयहरूमा भर्ना हुने विद्यार्थीको सङ्ख्यालाई उछिनेको छ।
नेपाली विद्यार्थीको महत्त्वपूर्ण उपस्थिति
नौ वर्षको अवधिमा अन्तर्राष्ट्रिय विद्यार्थीको संरचनामा ठूलो फेरबदल आएको छ। सन् २०१४ मा जहाँ चीन र भारतको वर्चस्व थियो, २०२३ सम्म आइपुग्दा भारतले कुल अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये ५८.८ प्रतिशत हिस्सा ओगट्दै शीर्ष स्थानमा रह्यो। यस अवधिमा भारतीय विद्यार्थीको सङ्ख्या १ हजार २६८ प्रतिशतले बढेको छ।
यस विपरीत, चिनियाँ विद्यार्थीको सङ्ख्या भने ९५.३ प्रतिशतले घटेर २.२ प्रतिशतमा झरेको छ। सन् २०२३ मा क्यानडाका कलेजहरूमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने शीर्ष पाँच राष्ट्रहरूमध्ये नेपाल तेस्रो स्थानमा पुगेको छ। कुल अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये ३.९ प्रतिशत नेपाली विद्यार्थी रहेका छन्, जुन फिलिपिन्स (६.५ प्रतिशत) पछि र नाइजेरिया (३.८ प्रतिशत) भन्दा अगाडि छ।
अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्यामा आएको अत्यधिक वृद्धि र भिसा दुरुपयोगका घटना बढेपछि सन् २०२३ मा क्यानाडाको लिबरल संघीय सरकारले नयाँ विद्यार्थी भिसालाई नियन्त्रण गर्न कोटा प्रणाली लागू गर्यो।
यस कदमले अन्तर्राष्ट्रिय विद्यार्थीको महँगो शुल्कबाट ठूलो राजस्व कमाउँदै आएका शैक्षिक संस्थाहरू, विशेष गरी अन्टारियोका कलेजहरूलाई ठूलो आर्थिक दबाब दिएको छ।
यी संस्थाहरूले आन्तरिक विद्यार्थीको ट्युसन शुल्क स्थिर भएपछि आफ्नो कुल राजस्वको ३० प्रतिशतसम्म अन्तर्राष्ट्रिय विद्यार्थीबाट प्राप्त गर्थे।
कोटा प्रणाली लागू भएपछि विद्यार्थी आगमन घटेको छ। सन् २०२५ को पहिलो नौ महिनामा क्यानाडाले ६५.७ प्रतिशत कम नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भिसा स्वीकृत गरेको छ।
यसको असर भारतीय विद्यार्थीको आवेदन सङ्ख्यामा सबैभन्दा बढी परेको छ, जसको सङ्ख्या सन् २०२२ को तुलनामा ह्वात्तै घटेको छ। यसले भविष्यमा क्यानाडा जाने सपना बोकेका नेपाली विद्यार्थीहरूको आवेदन प्रक्रियामा पनि अनिश्चितता बढाएको छ।
-नेपाल टच, क्यानाडाबाट
