अर्जुनधारामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापा । झापाको अर्जुनधारामा राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ। आयोजक नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी माविले आज बुधबारदेखि मङ्सिर २१ गतेसम्म सञ्चालन हुने अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका छन्।

प्रतियोगिताको उद्घाटन खेल आज दिउँसो १२ः३० बजे एपीएफ क्लब र एभरेस्ट लुम्बिनी क्लबबीच हुनेछ। आजै दिउँसो २ः३० बजेको दोस्रो खेलमा न्यु डायमन्ड क्लब र कोशी प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन्।

लिग तथा नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, एभरेष्ट र त्रिभुवन आर्मी क्लब छन् भने समूह ‘बी’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस क्लब छन्।

लिग चरणमा मङ्सिर १८ गते एपीएफले आर्मीको र न्यु डायमन्डले पुलिसको सामना गर्नेछन्। मङ्सिर १९ गते भने एभरेस्ट र आर्मीबीच तथा कोशी प्रदेश र पुलिस क्लबबीच भिडन्त हुनेछ। समूह चरणका यी प्रतिस्पर्धाले सेमिफाइनल समीकरण तयार पार्नेछ।

सेमिफाइनल खेलहरू मङ्सिर २० गते बिहान ९ बजे र दिउँसो २ः३० बजे हुनेछन्। फाइनल खेल मङ्सिर २१ गते उपाधिका लागि सञ्चालन गरिनेछ।

खेलका लागि लक्ष्मी माविको मैदानमा कोर्टलाई स्तरोन्नति गरी म्याटको अभाव भए पनि खेलमैदान तयार पारिएको छ। विद्यालय परिसरमै करिब एक हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिटसमेत निर्माण गरिएको छ।

प्रतियोगिताका विजेता टोलीले २ लाख रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख रुपैयाँ पाउनेछ। तेस्रो हुने दुई टोलीलाई समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ।

आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र दैनिक प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ।

यसका साथै, हरेक विधाका उत्कृष्ट खेलाडी (बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरो) ले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *