पोखरा एभेन्जर्सको कर्णाली याक्समाथि सहज जित

काठमाडौँ । पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेटमा कर्णाली याक्समाथि सहज जित दर्ता गरेको छ।

मङ्गलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले कर्णाली याक्समाथि ३४ रनको जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन को विशाल योगफल तयार पारेको थियो।

पोखराका लागि रोसिङ्टोनले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय पारी खेले। उनले ५७ बलमा ११ चौका र ७ छक्का प्रहार गर्दै १०० रन बनाए।

यस्तै, जेसन रोय ले ४६ रन जोड्दा धनन्जय लक्षनले २३ रन र कप्तान कुशल भुर्तेलले १८ रनको योगदान दिए। कर्णालीका लागि मार्क वाट र नन्दन यादवले १-१ विकेट लिए।

जवाफमा २०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली याक्सले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६७ रन बनाउन सक्यो।

कर्णालीका लागि मार्क वाट ले ३४ बलमा ४ चौका र ५ छक्कासहित ५९ रनको अर्धशतकीय पारी खेले। नजमउल्लाह जर्दानले २४ रन र पवन सर्राफले १९ रनको योगदान गरे।

पोखराको जितमा ऋषि धवन र धनन्जय लक्षन ले उत्कृष्ट बलिङ गर्दै ३-३ विकेट लिए। यो जितसँगै पोखरा एभेन्जर्सले ५ खेलबाट ४ अंक जोडेको छ। पराजित कर्णाली याक्सको भने ६ खेलबाट २ अंक मात्र छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *