‘हर्कवाद’ घोषणा गर्दै मेयर साम्पाङको ‘श्रम संस्कृति पार्टी’ सार्वजनिक
विराटनगर। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल श्रम संस्कृति पार्टीले मंगलबार धरानमा पत्रकार सम्मेलन आयोजना गर्दै पार्टीको मूल राजनीतिक दर्शन ‘हर्कवाद’ रहेको घोषणा गरेको छ।
पार्टीको अवधारणा र एजेन्डाहरू सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले आफ्नो मूल सिद्धान्तलाई प्रस्ट्याएका छन्।
अध्यक्ष साम्पाङले अवधारणा पत्र पढेर सुनाउँदै हर्कवाद लाई यसरी परिभाषित गरे:
“प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्दछ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नुपर्दछ। अनिवार्य श्रम र श्रमदाताको नीति र निरन्तर अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनास र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने नै हर्कवाद को मूल राजनीतिक दर्शन हो।”
साम्पाङले यो देशको ढुङ्गा र माटोमा श्रम रोपेर देशको स्वाधीनता, सम्प्रभुता, समृद्धि, सुख र खुसीसहितको सुनौलो भविष्य फलाउने सूत्र पनि ‘हर्कवाद’ नै भएको बताए।
मुख्य अवधारणा र शासकीय स्वरूप सम्बन्धी योजनाहरू:
शासकीय स्वरूप: पार्टीको अवधारणाअनुसार, बालिग मताधिकारद्वारा प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपति रहनेछन्। राष्ट्रपति राष्ट्र र सरकार दुवैको प्रमुख हुने र उनको पदावधि पाँच वर्षको हुनेछ।
सरकार गठन: राष्ट्रपतिले राजनीतिक क्षेत्र बाहिरका विषय विज्ञ वा सांसद जसलाई पनि लिएर आफ्नो पायकको सरकार गठन गर्न पाउनेछन्। केन्द्रमा समानुपातिक समावेशी किसिमको सरकार बनाउने नीति रहेको छ।
प्रदेश सरकार: प्रदेशका मुख्यमन्त्रीसमेत स्थानीय सरकार चुनिए जस्तै प्रत्यक्ष निर्वाचित हुने अवधारणा पार्टीले अघि सारेको छ।
प्रतिनिधित्व र निर्वाचन प्रणाली: राज्यको सबै अङ्गहरूमा आदिवासी, जनजाति, खसआर्य, मधेसी, दलित, मुस्लिम र अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चित गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली अङ्गीकार गर्ने नीति छ।
राष्ट्रपति/उपराष्ट्रपति चयन: दलले उम्मेदवारी दिँदा राष्ट्रपति र उपराष्ट्रपति एकै लिङ्ग र एकै जाति समुदायको नरहने गरी व्यवस्था मिलाउने जनाइएको छ।
विकास नीति: पहुँच र शक्तिको आडमा गरिने असमान र अन्यायपूर्ण विकासको वितरण अन्त्य गरिने र काठमाडौँ केन्द्रित वा शहर केन्द्रित विकासलाई गाउँ घर केन्द्रित बनाइने।
अर्थनीति: वैज्ञानिक कर लागू गर्ने र धनीबाट धेरै लिएर गरिबलाई बचाउने नीति लिइनेछ।
धर्मनिरपेक्षता: राज्यको कुनै धर्म नहुने तर व्यक्तिको धार्मिक आस्थाप्रति स्वतन्त्रता रहने उल्लेख छ। कसैलाई करकाप वा बाध्य पारेर धर्म परिवर्तन गराउन नहुने, अन्यथा दण्डनीय मानिने घोषणापत्रमा जनाइएको छ।
शिक्षा नीति: जेनजी पुस्तालाई उत्पादन, निर्माण र आविष्कारमा लगाउने र जीवनोपयोगी शिक्षा पद्दति लागू गरी हप्तामा ३ दिन मात्र पढाउने व्यवस्था मिलाएर पाठ्यभार घटाउने नीति लिइनेछ।
पार्टीले आफ्नो अवधारणापत्रमा सार्वभौम र राजकीय सत्ता, भौगोलिक अखण्डता, असंलग्न परराष्ट्र नीति, नागरिक सरकार, न्यायपालिका, बहुभाषिक नीति, आत्मनिर्णय, स्वशासन र स्वायत्तता लगायतका बुँदाहरूलाई पनि प्रमुख एजेन्डा बनाएको छ।
