सामाजिक सुरक्षा भत्ता बढाउन माग

काठमाडौं । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता बढाउनका लागि सरकारसमक्ष माग राखेको छ। महासङ्घको गोरखामा सम्पन्न तेस्रो केन्द्रीय कार्यसमिति बैठकले विभिन्न मागसहित सरकारलाई ध्यानाकर्षणपत्र पठाउने निर्णय गरेको हो।

महासङ्घले ज्येष्ठ नागरिकहरूको वर्गीकरण गरी उमेर र अवस्थाका आधारमा सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने माग गरेको छ।

महासङ्घका मुख्य निर्णय र मागहरू

भत्ता र छुटको व्यवस्था: हवाई र सार्वजनिक यातायातमा भाडामा विशेष छुटको व्यवस्था गर्नुपर्ने।

भत्ताबापत बैंकमा निष्क्रिय रहेको अरबौँ रकम ज्येष्ठ नागरिकहरूको कोषमा लैजाने गरी नीतिगत निर्णय गर्नुपर्ने।

वृद्ध भत्ताको रकम बैंकमा दाखिला भएको सुरुको समयदेखि नै ब्याजको व्यवस्था गर्न पहल गर्ने।

स्वास्थ्य र पूर्वाधार: स्वास्थ्य बीमालाई थप व्यवस्थित र ज्येष्ठ नागरिक मैत्री बनाउनुपर्ने।

सरकार, निजी क्षेत्र र व्यक्तिगत तवरमा निर्माण हुने संरचनाहरू ज्येष्ठ नागरिक मैत्री हुनुपर्ने।

शिक्षा र सचेतना: माध्यमिक तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा नैतिक शिक्षाका साथै बुढ्यौली शिक्षा समावेशका लागि पहल गर्ने।

अन्तरपुस्तामा आएको दुरी पहिचान गरी हटाउन ७७ वटै जिल्लामा सचेतनामूलक कार्यक्रम गर्ने।

प्रतिनिधित्व र सेवा केन्द्र: महासङ्घको सिफारिसमा कम्तीमा १ जनालाई राष्ट्रिय सभामा आरक्षण सिट दिनुपर्ने।

स्थानीय तहका सबै वडामा कम्तीमा एउटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र बनाउनुपर्ने।

महासङ्घका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठका अनुसार, गोरखामा गरिएको निर्णयसहितको ध्यानाकर्षणपत्र सरकार र राजनीतिक दलका सबै तहमा बुझाइनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *