जनकपुरको पहिलो जित: माज र अनिलको अर्धशतकमा चितवन पराजित

काठमाडौं। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा लगातार चार खेलको जितविहीन यात्रामा पूर्णविराम लगाउँदै पहिलो जित दर्ता गरेको छ।

पाकिस्तानी युवा अलराउण्डर माज सदाकत र नेपाली ब्याटर अनिल शाहको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले जनकपुरले चितवन राइनोजले दिएको १७७ रनको चुनौतीपूर्ण लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

विजयी लक्ष्य पछ्याउने क्रममा जनकपुरका लागि माज सदाकतले एनपीएलमा आफ्नो पहिलो अर्धशतक प्रहार गरे। उनले आक्रामक ब्याटिङ गर्दै मात्र ३० बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रन जोडे। माजले २४ बलमै अर्धशतक पूरा गरेका थिए।

अघिल्लो खेलमा टोलीबाट बाहिर रहेका अनिल शाहले चितवनविरुद्ध प्लेइङ एघारमा फर्कँदै सानदार ब्याटिङ गरे। वान डाउनमा आएका अनिलले ३६ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतले ६१ रन बनाए।

ओपनिङमा माज सदाकत र आसिफ शेखले ४५ रनको साझेदारी गर्दै जनकपुरलाई राम्रो सुरुवात दिलाएका थिए। त्यसपछि माज र अनिल शाहले दोस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारे। अन्त्यमा, आदित्य महताले ७ बलमा अविजित १८ रन जोड्दै टोलीलाई जितसम्म डोर्‍याए।

यसअघि, बलिङतर्फ चितवनका सोहेल तनविर, कमलसिंह ऐरी र अमर सिंह राउटेलाले १-१ विकेट लिए। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले डाविड मालानको उत्कृष्ट ब्याटिङमा २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो।

चितवनका लागि ओपनर डाविड मालानले ५४ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन को महत्त्वपूर्ण पारी खेले। यस्तै, यस सिजन पहिलो पटक ओपनिङ गरेका अर्जुन साउदले पनि ३९ बलमा ५२ रन जोडे।

मालान र साउदले पहिलो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गर्दै चितवनलाई सानदार सुरुवात दिलाए। यो यस सिजन एनपीएलमा पहिलो विकेटका लागि भएको सर्वाधिक साझेदारी पनि हो। मालानलाई १९ औं ओभरमा माज सदाकतले एलबीडब्लु धरापमा पारे। अन्त्यमा, कप्तान कुशल मल्लले १४ बलमा अविजित ३० रन जोडे। जनकपुरका लागि माज सदाकत, अनिल शाह, रुपेश सिंह र निकोल लफ्टी इटनले समान १-१ विकेट हात पारे।

यो पहिलो जितपछि जनकपुर बोल्ट्सले ५ खेलबाट २ अंक जोड्दै प्लेअफको झिनो सम्भावना कायम राखेको छ। उता, चितवन राइनोजको भने ५ खेलमा यो तेस्रो हार हो र टोली ४ अंकसहित चौथो स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *