नेपाली सवार बसमा आगलागी, ३ जनाको मृत्यु, २४ घाइते
काठमाडौँ। नेपालको सुनौली नाकाबाट दिल्लीतर्फ गइरहेको एउटा यात्रुबाहक बस ट्रकसँग ठोक्किएर आगलागी हुँदा तीन जनाको घटनास्थलमै जलेर मृत्यु भएको छ। दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर छ।
सोमबार बिहान करिब २ः३० बजे उत्तर प्रदेशको बलरामपुरस्थित कोतवाली देहात प्रहरी चौकी क्षेत्रको फुलवरिया बाइपासमा दुर्घटना भएको हो।
भारतीय सञ्चार माध्यमहरूका अनुसार, बसमा नेपाल सीमा नजिकको सुनौलीबाट दिल्लीका लागि ४५ यात्रु सवार थिए। अधिकांश नेपालीहरू थिए।
दुर्घटनाको प्रकृति अत्यन्तै भयानक थियो। ट्रकसँग ठोक्किएपछि बस अनियन्त्रित भई करिब १०० मिटर परसम्म घिस्रियो। त्यसक्रममा बसले उच्च भोल्टेजको बिजुलीको पोलमा ठक्कर दियो। पोल भाँच्चिएर बसमाथि खस्दा भीषण आगो लाग्यो।
त्यसलगत्तै बसभित्र फसेका यात्रुहरू चिच्याउन थाले। त्रास फैलिएपछि उनीहरू झ्यालका सिसाहरू फोरेर ज्यान जोगाउन सफल भए। दुर्घटनाको खबर पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेको थियो।
प्रत्यक्षदर्शीका अनुसार, अधिकांश यात्रुहरू भाग्न सफल भए पनि पछि बसबाट तीन जनाको शव निकालिएको थियो। मृतक र घाइतेहरुको पहिचान सार्वजनिक भएको छैन।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालक र सहचालक फरार भएका छन्।
