चुनाव तयारीमा होमियो कांग्रेस : मंसिरभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

काठमाडौं। नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र पार्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।

पार्टीले आफ्ना मातहतका निकायलाई यही मंसिर मसान्तभित्र उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको छ।

सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयलगत्तै पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले तल्ला कमिटीहरूलाई स्पष्ट परिपत्र जारी गरेका हुन्।

दुई ठूला निर्वाचनको तयारी एकसाथ कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकैपटक उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको हो।

परिपत्रमा पार्टी विधानको धारा ३२ को उपधारा ८ (क) र ९ (क) बमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न भनिएको छ। केन्द्रले तोकेको समयसीमाभित्र नाम सिफारिस भई आएपछि मात्र उम्मेदवार छनोट प्रक्रिया अघि बढ्नेछ।

रणनीति यसपटक कांग्रेसले टिकट वितरणमा फरक रणनीति अपनाउने भएको छ। मंसिर मसान्तभित्र जिल्ला र प्रदेशबाट सिफारिस भई आएका नामहरूमा छलफल गरी प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा तिनै तहका उम्मेदवारको टुङ्गो एकै पटक लगाउने तयारी पार्टीले गरेको छ।

यो निर्णयले पार्टीभित्रको गुटबन्दी मिलाउन र चुनावी अभियानलाई एकढिक्का भएर अगाडि बढाउन मद्दत पुग्ने कांग्रेसको विश्वास छ। अबको दुई हप्ता कांग्रेसका तल्ला कमिटीहरू उम्मेदवार छनोटको रस्साकस्सीमा व्यस्त हुने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *