जेनजी आन्दोलन : आगजनी गर्ने रास्वपा नेता कारागार चलान, रंगेलीका ८ जना पक्राउ
काठमाडौं/मोरङ। भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा सरकारी तथा व्यक्तिगत सम्पत्तिमाथि तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न आरोपितहरूलाई प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेको छ। यसै क्रममा मोरङ प्रहरीले रंगेली घटनाका ८ जनालाई पक्राउ गरेको छ भने पोखरामा मेयरको घर जलाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक स्थानीय नेता कारागार चलान भएका छन्।
रास्वपा नेतासहित तीन जना थुनामा
पोखरामा आन्दोलनको मौका छोपी व्यक्तिका घरमा आगजनी र तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरा–१० का सभापति चन्द्रबहादुर थापालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ।
थापामाथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोड गरेको किटानी जाहेरी परेको छ। न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दामा थापा सहित विमला सापकोटा (बिना मल्ल भनिने) र चिनबहादुर खवास (बुद्ध भनिने) लाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको कास्की प्रहरीले जनाएको छ। सोही घटनामा संलग्न एक नाबालकलाई पुर्पक्षका लागि सुधार गृह पठाइएको छ भने थापाका भाइ हरिबहादुर थापा (‘खली’) लाई २ लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ।
आगजनी र तोडफोड गर्दै गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि रास्वपाले उनलाई पक्राउ पर्नुअघि नै निलम्बन गरेको थियो।
रंगेली घटनाः ८ जना नियन्त्रणमा
भदौ २४ गते रंगेलीमा भएको प्रदर्शनका क्रममा इलाका प्रशासन कार्यालय रंगेली, रंगेली नगरपालिका लगायतका सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरी ठूलो भौतिक क्षति पुर्याएको आरोपमा मोरङ प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरूमाथि सम्मानित मोरङ जिल्ला अदालत, विराटनगरबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले मंसिर १५ गते उनीहरूलाई आ-आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। पक्राउ पर्नेमा रंगेलीका भुपाल भण्डारी, आनन्द साह, रमेश कुमार मण्डल, रुपक गौतम, रुपेश यादव सहित कटहरीका समिर क्षेत्री, दोर्जे प्रतिक तामाङ र जहदाका गणपत यादव रहेका छन्। पक्राउ परेका सबै आरोपितहरूमाथि हाल इलाका प्रहरी कार्यालय रंगेलीमा थप अनुसन्धान भइरहेको छ।
कारागारबाट भागेका लागूऔषध कैदी नियन्त्रणमा
यसैबीच, जेनजी आन्दोलनको मौका पारेर केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौँबाट फरार भएका एक लागूऔषध मुद्दाका कैदी पनि नियन्त्रणमा आएका छन्।
पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–३ बस्ने वर्ष ३४ का किशान आङ्देम्बे रहेका छन्। उनलाई पनि प्रहरीले मंसिर १५ गते नै निजको घर वतनबाट नियन्त्रणमा लिएको हो।
सरकारी र निजी सम्पत्तिमाथि क्षति पुर्याउने कार्यमा संलग्न आरोपितहरूलाई कास्की र मोरङ प्रहरीले धमाधम पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको छ।
