चितवनलाई प्लेअफको ढोका, जनकपुर ‘गर या मर’ को अवस्थामा

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई रोमाञ्चक भिडन्त हुँदैछन्।

आजको पहिलो खेल चितवन राइनोजका लागि प्लेअफको बाटो बलियो बनाउने अवसर हो भने जनकपुर बोल्ट्सका लागि ‘गर या मर’ को स्थिति छ।

चितवनले ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेको छ। विराटनगरलाई हराएको र काठमाडौं गोर्खाजसँग हारेको चितवन आजको खेल जितेर प्लेअफको सम्भावना मजबुत बनाउन चाहन्छ।

जनकपुरका लागि भने यो सिजन निराशाजनक छ। उसले खेलेका चारै खेलमा हार बेहोरेको छ। आजको खेलमा पराजित भए जनकपुर प्रतियोगिताबाट बाहिरिनेछ। गणितीय हिसाबले प्लेअफको दौडमा कायम रहन उसलाई आज जित्नैपर्ने दबाब छ।

आजै दिउँसो हुने दोस्रो खेल पनि प्लेअफको यात्राका लागि दुवै टोलीका लागि निर्णायक छ।

पोखरा एभेन्जर्सले ४ खेलमा जम्मा एक जित हासिल गरेको छ। आजको जितले उसलाई प्लेअफको यात्रामा ठूलो राहत दिनेछ।

५ खेल खेलिसकेको कर्णाली याक्सको पनि केवल एकै जित छ। यदि कर्णाली आजको खेलमा पराजित भएमा उसले पनि प्रतियोगिताबाट बिदा लिनुपर्नेछ।

चितवनले आज जिते प्लेअफको सम्भावना बलियो हुन्छ भने जनकपुर र कर्णालीका लागि आजको हारले एनपीएलको यात्रा टुंगिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *