बालेनका दिवंगत बुबाको भन्दै जसको तस्बिर आयो…

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका पिता रामनारायण शाहको निधनको समाचार सम्प्रेषण गर्दा केही सञ्चारमाध्यमले त्रुटिपूर्ण तस्बिर प्रयोग गरेको भन्दै सम्बन्धित व्यक्ति र परिवारले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

समाचारमा बालेनका दिवंगत बुबाको तस्बिर प्रयोग हुनुपर्नेमा, गल्तीवश आफ्ना भिनाजु (दिदी उर्मिला अधिकारीका श्रीमान्) अम्बिका प्रसाद अधिकारीको तस्बिर प्रयोग भएको पाइएको भन्दै विवेक केशरी प्रसाईंले आपत्ति जनाएका छन्।

यसैगरी, बालेनका बुवाको भन्दै आफ्नो तस्बिर छापिएकोप्रति प्रतिक्रिया दिँदै अधिकारीले यसलाई ‘गैरजिम्मेवार पत्रकारिताको नमुना’ भन्दै खेद प्रकट गरेका छन्।

दुःख, संवेदना र पीडाको यस घडीमा व्यक्तिको पहिचान नै बदलिने गरी गलत तस्बिर प्रयोग हुनु पत्रकारिताको आधारभूत मानक र आचारसंहिताको गम्भीर उल्लङ्घन भएको उनले बताएका छन्। ललितपुरको भैँसेपाटीमा बस्दै आएका अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) सँग सम्बन्धित हुन्।

उनले भनेका छन्, ‘जिम्मेवार भनिने सञ्चारमाध्यमबाट यस्तो गल्ती हुनु अत्यन्तै दुःखद हो। सत्य-तथ्य र पुष्टि बिना सामग्री पस्कँदा पीडित परिवारको भावनामा चोट पुग्ने मात्र होइन, जनमानसमा समेत अनावश्यक भ्रम सिर्जना हुन्छ।’

परिवारले भ्रमपूर्ण समाचार र गलत फोटोको प्रयोग तुरुन्त सच्याउन आग्रह गरेको छ। साथै, प्रभावित व्यक्तिहरूसँग स्पष्ट रूपमा क्षमायाचना गर्न र भविष्यमा तथ्य जाँच बिना संवेदनशील सामग्री सार्वजनिक नगर्ने व्यावसायिक प्रतिबद्धता जनाउन पनि सञ्चारमाध्यमलाई सचेत गराइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *