बालेन र कुलमान मिल्दैछन् ?

काठमाडौँ। नेपालका दुई सर्वाधिक चर्चित र ‘पर्फर्मेन्स’ दिएका भनिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘उज्यालो नेपाल पार्टी’ का संस्थापक कुलमान घिसिङ बीचको ‘गोप्य’ भेटघाटले राजनीति वृत्तमा तरंग सिर्जना गरेको छ।

कुलमान घिसिङले शनिबार बालेनकै निवासमा भएको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै संक्षिप्त कुरा लेखेका छन्, जसले धेरैको ध्यान तानेको छ। उनले लेखेका छन्ः ‘देश बनाउने अभियानमा हामी सँगै छौँ।’

बालेनले परम्परागत राजनीतिको साङ्लो तोडेर काठमाडौं महानगरपालिकाको बागडोर सम्हालिरहेका छन् भने कुलमान देशलाई लोडसेडिङमुक्त बनाउने व्यक्तिका रुपमा चर्चित हुन्। यी दुई लोकप्रिय अनुहार एकसाथ आउनुले ‘देश बनाउने एजेन्डा’ मा नयाँ आयाम थपिने जनअपेक्षा बढेको छ।

भर्खरै ‘उज्यालो नेपाल पार्टी’ खोलेर राजनीतिक यात्रा सुरु गरेका कुलमानले बालेनसँगको यो भेटलाई ‘हामी सँगै छौँ’ भन्नुले उनीहरूबीचको सहकार्य व्यक्तिगत मात्र नभई रणनीतिक पनि हुन सक्ने कयास लगाइएको छ।

धेरैले यी दुईको मिलनलाई वैकल्पिक राजनीतिक शक्तिको उदयका रूपमा हेरेका छन्, जसले आगामी निर्वाचनहरूमा ठूला परम्परागत दलहरूलाई चुनौती दिन सक्ने सम्भावना छ।

बालेनको सचिवालयले यो भेट शनिबार बालेनकै निवासमा भएको पुष्टि गरेको छ। तथापि, भेटको विस्तृत विषयवस्तुबारे भने दुवै पक्षले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

कुलमानको यो स्पष्ट घोषणाले अब उनीहरू मिलेर ‘देश बनाउने अभियान’ लाई कसरी अगाडि बढाउँछन् र के उनीहरू आगामी दिनमा चुनावी सहकार्य गर्नेछन् भन्नेमा आम जनताको चासो केन्द्रित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *