एनपीएलमा सुदूरपश्चिम : जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने पहिलो टोली

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रालाई कायम राख्दै प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई शनिबार भएको रोमाञ्चक भिडन्तमा ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि दावेदारी बलियो बनाएको हो।

त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १४ बल बाँकी छँदै पुरा गर्‍यो। गत वर्ष जनकपुरसँगै फाइनलमा पराजित भएको सुदूरपश्चिमले यस वर्ष लगातार पाँचौं जित दर्ता गर्दै क्वालिफायर्स १ नजिक पुगेको छ। यसको विपरीत, लिगको सुरुवाती चारै खेलमा पराजय भोगेको जनकपुरको प्लेअफ यात्रा लगभग समाप्त भएको छ।

इशान र विनोदको संयमित साझेदारी

१४६ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले ओपनर जस ब्राउनलाई पहिलो बलमै र क्रिस लिनलाई १ रनमै गुमाए पनि इशान पाण्डे र विनोद भण्डारीले इनिङ्स सम्हाले। उनीहरूले ७५ बलमा ९१ रनको निर्णायक साझेदारी गरे। इशानले आक्रामक शैलीमा ३५ बलमा ८ चौका र १ छक्कासहित ५६ रन बनाए भने विनोदले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४२ रनको संयमित इनिङ्स खेले।

अन्तिमतिर कप्तान दीपेन्द्रसिंह ऐरीले १० रन बनाए। विस्फोटक ब्याटिङ गर्दै हरमित सिंहले १० बलमा १ चौका र ३ छक्कासहित अविजित २५ रन जोडेर टोलीलाई सहज जित दिलाए। जनकपुरका लागि माज सदाकतले २ विकेट लिए।

जनकपुरको अर्धशतकीय आशा निराशामा परिणत

यसअघि ब्याटिङ गरेको जनकपुरले अमेरिकी ब्याटर सञ्जय कृष्णमुर्थीको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो। १२ ओभरमा ६७-४ को दबाबपूर्ण स्थितिमा रहेको जनकपुरलाई कृष्णमुर्थीले ३८ बलमा ४ चौका र २ छक्कासहित ५० रन जोडेर सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए। उनले दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा २ छक्का र १ चौकासहित २० रन जोडेका थिए।

तर, सुदूरपश्चिमका तीब्र बलर अविनाश बोहराले १८औँ ओभरमा कृष्णमुर्थी र शुभ कंसाकारलाई लगातार बलमा आउट गरेपछि जनकपुरको इनिङ्समा पूर्णविराम लाग्यो। अविनाशले मात्र २ रन खर्चिएको सो ओभरले खेलको दिशा परिवर्तन गर्‍यो। अविनाशले ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै, अर्का बलर स्कट कुग्लेनले पनि २२ रन खर्चेर ३ विकेट लिएका थिए। जनकपुरका ओपनर आसिफ शेख र मयन यादवलाई कुग्लेनले नै पहिलो ओभरहरूमा आउट गरेका थिए।

यस हारसँगै जनकपुरको डिफेन्डिङ उपाधि जोगाउने सपनामा गम्भीर धक्का लागेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *