सन्दीप जोराको कमाल: लुम्बिनी लायन्सको प्लेअफ सम्भावना कायमै
काठमाडौँ। सन्दीप जोराले अन्तिम ओभरमा निर्णायक १० रन प्रहार गरेपछि लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि ३ विकेटको रोमाञ्चक विजय हासिल गरेको छ। यो जितसँगै लुम्बिनीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राखेको छ।
१५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक थियो। जोराले पहिलो बलमा २ रन जोडे र त्यसपछि दोस्रो र चौथो बलमा चौका प्रहार गर्दै लुम्बिनीलाई २ बल बाँकी छँदै लक्ष्यमा पुर्याए।
पहिलो १३ बलमा ६ रन मात्र बनाएका जोराले २२ बलमा २ चौका र १ छक्काको मद्दतले अविजित २५ रनको महत्त्वपूर्ण इनिङ्स खेले। ५ खेलमा लुम्बिनीको यो दोस्रो जित हो। लगातार तीन खेलको हारपछि दबाबमा रहेको लुम्बिनीलाई यो विजयले ठूलो राहत दिएको छ। पोखराको भने ४ खेलमा यो तेस्रो हार हो।
लुम्बिनीको ब्याटिङ
लुम्बिनीको सुरुवात राम्रो हुन सकेन। ओपनर सुमित महर्जन शून्य र डी’आरसी शट ७ रनमा आउट भए। निरोशान डिकवेलाले २२ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाएर मध्यक्रमलाई हौसला दिएका थिए। कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए। उनले ३६ बलमा ३ चौका र २ छक्का प्रहार गरे। गुलबदिन नैबले १७ र रुबेन ट्रम्पलमनले ९ रन जोडेका थिए। पोखराका विपिन खत्री, म्याट टेलर र सागर ढकालले २-२ विकेट लिए भने जिम्मी निसमले १ विकेट हात पारे।
पोखराको इनिङ्स
यसअघि, त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १५० रन बनाएको थियो। ८ ओभरमा ३३ रन बनाउँदा ४ विकेट गुमाइसकेको पोखरालाई एडम रोसिङटन र जिम्मी निसमले पाँचौँ विकेटका लागि ६२ बलमा ९२ रनको सानदार साझेदारी गर्दै उकासेका थिए। यसै साझेदारीको कारण पोखराले अन्तिम ५ ओभरमा ७६ रन जोड्न सफल भएको थियो।
रोसिङटनले ६३ बलमा ७ चौका र ५ छक्कासहित ८१ रन बनाएका थिए। निसमले ३२ बलमा ३ चौका र ३ छक्कासहित ५१ रनमा अविजित रहे। लुम्बिनीका शेर र तिलकराज भण्डारीले २-२ तथा गुलबदिन नैबले १ विकेट लिएका थिए।
यस खेल लुम्बिनीका गुलबदिन नैब र पोखराका निसमको प्रतियोगितामा अन्तिम खेल थियो। उनीहरू यूएईको आईएल टी २० खेल्न दुबई प्रस्थान गर्दैछन्।
