नेपाल एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा
काठमाडौँ। मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
अजमानस्थित सेभेन ड्रिस्ट्रिक ग्राउन्ड २ मा भएको सेमिफाइनल खेलमा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको मलेसिया १७.२ ओभरमा केवल ५१ रनमा अलआउट हुन पुग्यो।
नेपालका ओपनिङ बलरद्वय नितेशकुमार पटेल र चन्दन रामले उत्कृष्ट प्रदर्शन गर्दै ३-३ विकेट लिए। अपराजित पौडेल, कप्तान अशोक धामी र रोशन विश्वकर्माले पनि १-१ विकेट लिएका थिए।
मलेसियाबाट नवौं नम्बरमा ब्याटिङ गरेका मोहम्मद फाथुल मुइनले ११ र हम्जाह पांगीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन्।
५२ रनको झिनो लक्ष्य नेपालले ८ ओभर भित्रै ५५ रन बनाएर पूरा गर्यो। निरजकुमार यादव ४ रनमा आउट भए पनि वंश क्षेत्री ७ रन र निश्चल क्षेत्री १० रन बनाई अविजित रहे।
साउदी अरेबिया र हङकङलाई हराउँदै समूह विजेता बनेको नेपालले अब शनिबार नै भइरहेको यूएई र ओमानबीचको सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्ने छ।
