एनपीएलमा आजः लुम्बिनी-पोखरा, जनकपुर-सुदूरपश्चिम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अन्तर्गत आज शनिबार दुई महत्त्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने यी खेलहरू प्लेअफ समीकरणका लागि निर्णायक बन्न सक्नेछन्।
अंकतालिकाको तल्लो स्थानमा रहेका लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच आजको पहिलो खेल बिहान सवा ११ बजे सुरु हुनेछ। प्लेअफको होडमा आफूलाई कायम राख्न दुवै टोलीलाई आजको जित अपरिहार्य छ।
पहिलो खेल जितेपछि लुम्बिनीले लगातार तीन खेलमा हार व्यहोरिसकेको छ। आजको खेलमा लुम्बिनी त्यो हारको शृंखला तोड्न चाहन्छ।
सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पछिल्लो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा फर्किएको संकेत दिएको छ।
चार खेल खेलेको लुम्बिनी र तीन खेल खेलेको पोखरा दुवैको समान २ अंक छ।
दिउँसो साढे ३ बजे हुने दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र साविक विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
सुदूरपश्चिम रोयल्स यस सिजन उत्कृष्ट लयमा छ। टोलीले लगातार चार खेल जित्दै ८ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा एक्लो अपराजित टोलीको रूपमा आफ्नो स्थान बनाएको छ र प्लेअफ नजिक पुगेको छ।
जनकपुर बोल्ट्सका लागि भने यो सिजन ठिक विपरीत साबित भएको छ। साविक विजेता जनकपुरले खेलेका तीनवटै खेलमा हार व्यहोरेर जितविहीन छ। प्लेअफको सम्भावना कायम राख्नका लागि जनकपुरलाई आजको खेल जित्नैपर्ने बाध्यता छ।
