हारको मुखबाट जित खोस्दै विराटनगर: बसिरको ‘जादुयी’ छक्का!

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा हारको नजिक पुगिसकेको विराटनगर किंग्सलाई युवा अलराउन्डर बसिर अहमदले ‘जादुयी’ इनिङ्स खेल्दै रोमाञ्चक जित दिलाएका छन्। अन्तिम ओभरसम्म लम्बिएको श्वास रोक्ने खेलमा बसिरको अविजित अर्धशतकको मद्दतमा विराटनगरले कर्णाली याक्समाथि ३ विकेटको सनसनीपूर्ण जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १६१ रनको चुनौतीपूर्ण लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।

संकटमोचन बनेर आएका बसिर

१६१ रनको लक्ष्य पछ्याएको विराटनगरको सुरुआत निकै खराब रह्यो। एक समय ६५ रन बनाउँदा ५ विकेट गुमाएर टोली पूर्ण रूपमा दबाबमा थियो। तर, क्रिजमा आएका बसिर अहमदले धैर्य र आक्रामकताको उत्कृष्ट नमूना पेश गरे।

उनले ४३ बलको सामना गर्दै ३ चौका र ३ छक्कासहित अविजित ६२ रन जोडे। खेलको अन्तिम ओभरको पाँचौँ बलमा नन्दन यादवलाई सानदार छक्का प्रहार गर्दै उनले विराटनगरको जित पक्का गरेपछि मैदानमा खुसीयाली छाएको थियो।

बसिरलाई छैटौं विकेटका लागि नारायण जोशीले दरिलो साथ दिए। यी दुईबीच ६९ रनको महत्त्वपूर्ण साझेदारी भयो। जोशीले १६ बलमा २५ रन बनाएर आउट भए पनि बसिरले टोलीलाई पार लगाए। कर्णालीका लागि कप्तान सोमपाल कामी र गुल्सन झाले २–२ विकेट लिए पनि हार टार्न सकेनन्।

जितसँगै एनपीएलमा विराटनगर किंग्सले आफ्नो स्थिति बलियो बनाएको छ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रनको सम्मानजनक योगफल तयार पारेको थियो।

कर्णालीका लागि ओपनर प्रियांक पान्चलले उत्कृष्ट ब्याटिङ गर्दै ६३ रन बनाए। यो जारी सिजनमा उनको दोस्रो अर्धशतक हो। त्यस्तै, अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान दिए भने गुल्सन झाले २० रन जोडे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *